खुसीको खबर : अब सेयर बजार अनलाइनबाटै कारोबार
काठमाडौँ, असार २३
नेपाल स्टक एक्चेन्जले आगामी कात्तिक २१ गतेदेखि सम्पूर्ण कारोबार अनलाइन प्रणालीमा त्यो पनि घरमै नै बसेर गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएको छ । नेप्सेले पत्रकार सम्मेलनको आयोजना गरेर सोको जानकारी दिएको हो ।
आफ्नो कार्यकाल सकेर बिदा हुन लाग्नुभएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले सेयर बजार पूर्णरुपमा अनलाइन प्रणालीमा लैजाने प्रक्रिया सुरु गरिएको र हाल परीक्षणमा रहेको बताउनुभयो ।
नेप्सेले पूर्ण स्वचालित अनलाइन प्रणालीको स्थापनाका लागि सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार वाईको कम्पनीसँग २०७२ फागुनमा सम्झौता गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत थपलियाले सूचीकृत धितोपत्रको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको, ग्रामीण क्षेत्रमा ब्रोकर शाखा विस्तार गरिएको र कागजी धितोपत्र कारोबारेको अन्त्यसँगै झापाको बिर्तामोड कैलालीको धनगढी बाग्लुङ र लम्जुङको बेँसीसहरसम्म लगानीकर्ताको पहुँच विस्तार गरिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: २४ असार २०७४, शनिबार