भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा कांग्रेस पत्तासाफ, गठबन्धनको बिजोग


 


भोजपुर, असार २३
भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा नेपाली कांग्रेस पत्तासाफ भएको छ । यहाँ कांग्रेस सहित माओवादी केन्द्र र संघीय समाजवादी फोरमको तालमेल थियो ।

यहाँ प्रमुख उपप्रमुख सहित ४७ जना निर्वाचित हुँदा एउटा पनि पद कांग्रेसले जित्न सकेन ।  यहाँ एमालेका प्रमुख उपप्रमुख सहित ३८ जना निर्वाचित भएका छन् ।

एमालेले वडा नं ९ लेखर्क वडा नं ८ गोगने, वडा नं ७ कोट, वडा नं ५ खावा, वडा नं ३ अन्नपूर्ण, वडा नं २ छिनामखुमा प्यानलै जितेको हो ।

वडा नं ६ कोटमा वडाध्यक्ष सहित माओवादीले तीन र एमालेले दुई सदस्य जितेको छ भने वडा नं ४ नागीमा फोरमले प्यानलै जितेको छ । त्यस्तै वडा नं १ तिम्मामा वडाध्यक्ष सहित एमालेले चार र फोरमले एक सदस्य जितेको छ ।

यो गाउँपालिकामा फोरम दोस्रो शक्ति बनेको छ भने कांग्रेस शुन्य अवस्थामा देखिएको छ । यो गाउँपालिकामा कांग्रेसका सबैभन्दा धेरै नेता छन् ।

कांग्रेस पार्टी सभापति नन्दमणी राई, २०७० सालको निर्वाचनमा कांग्रेस भोजपुर क्षेत्र नं १ का उम्मेदवार धर्मराज राई, युवा नेताहरु विनोद वान्तावा, हेमन्त मुकारुङ, शक्तिराज राई लगायत एक दर्जन बढी नेता यही गाउँपालिकाका हुन् ।

यहाँ एमालेबाट प्रमुखमा धुर्बराज राई र उपप्रमुखमा इन्द्रवती राई निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्