जो झिनो मतले हारे
काठमाडौं, असार २१
स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जित(हार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जित(हार व्यहोरेका छन् । मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ ।
झापाको कमल गाउँपालिकामा कांग्रेस(एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी हुनुभयो । अहिलेसम्म गाउँ(नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो ।
कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी हुनुभएको हो ।अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जित(हारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई(दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।
२० भन्दा कम मतान्तरले कांग्रेस, एमाले र माओवादी तीन(तीन तहमा पराजित भएका छन् । एमालेले अछामको चौरपाटी गाउँपालिकामा एक मत, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ८ मत, प्युठानको मान्डवी गाउँपालिकामा १२ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा १५ मत र रोल्पाको त्रिवेणी गाउँपालिकामा २० मतले मात्र निर्वाचन जितेको छ ।
त्यस्तै, उसले चिशंखुगढी गाउँपालिका ओखलढुंगामा ३ मत, अठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङमा १३ मत र ऐरावती गाउँपालिका, प्युठानमा १६ मतले निर्वाचन हारेको छ ।कांग्रेसले ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिकामा १३ मत र प्युठानको ऐरावती गाउँपालिकामा १६ मतले निर्वाचन जितेको हो ।
कांग्रेसले अछामको चौरपार्टीमा एमालेसँग १ मत, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका एमालेसँग १५ मत र सोलुको महाकुलुङ गाउँपालिकामा माओवादीसँग २० मतले निर्वाचन हारेको छ ।
त्यसैगरी, माओवादीले ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा ३ मत र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २० मतले निर्वाचन जितेको छ । उसले रामप्रसाद राई गाउँपालिका, भोजपुरमा ८ मत, मान्डवी गाउँपालिका, प्युठानमा १२ मत र त्रिवेणी गाउँपालिका, रोल्पामा २० मतले निर्वाचन हारेको छ ।
प्रकाशित मिति: २१ असार २०७४, बुधबार