हवाई भाडा घट्यो, अब कहाँ जाँदा कति लाग्छ ? (सूचिसहित)


 


काठमाडौँ, असार २०

हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो ।

निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर रु चार घटाएर रु ८२ बनाएको थियो ।

यही असार २१ गते बुधबारदेखि लागू हुनेगरी हवाई भाडादर घटाइएको बुद्धएयरका बजार व्यवस्थापक विनिता थापाले जानकारी दिनुभयो ।

नयाँ भाडादरअनुसार अब काठमाडौँबाट विराटनगर जाँदा सात हजार १०४ तिर्नुपर्छ । यसअघि विराटनगरको भाडा सात हजार २०० थियो ।

त्यस्तै भद्रपुरको भाडा आठ हजार ६७६, भैरहवाको  पाँच हजार ९१३, धनगढीको  १२ हजार १९ र नेपालगन्जको आठ हजार ३६५ पर्छ । यसअघि भद्रपुरको आठ हजार ७००, भैरहवाको छ हजार, धनगढीको १२ हजार २०० र नेपालगन्जको नौ हजार ५०० थियो ।

त्यसैगरी पोखरा जान पहिला चार हजार ७०० तिर्नुपथ्यो भने अब चार हजार ६३४ लाग्ने भएको छ । काठमाडौँबाट जनकपुर जान तीन हजार ९४८ लाग्नेछ । पहिला यही रुटमा चार हजार लाग्थ्यो ।

सबैभन्दा कम दूरीको उडान रहेको सिमरा जाने भाडामा भने  ४० मात्र घटेको छ । सिमरा जान पहिला तीन हजार ४५ लाग्थ्यो भने अब तीन हजार पाँच तिरे पुग्छ । भरतपुर जान तीन हजार ३५३ लाग्छ । पहिला तीन हजार ५०० थियो ।

तुम्लिङ्टारको भाडा पाँच हजार ७०० बाट घटाएर पाँच हजार ६२३ कायम गरिएको छ । माउन्टेन फ्लाइटको भाडामा पनि ११ हजारबाट घटाएर १० हजार ८६२ कायम गरिएको छ । रासस

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्