कैलालीको टिकापुरमा एमाले विजयी, उपमेयरमा कांग्रेस


 


कैलाली, असार २०
कैलालीको टिकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेले जित हात पारेको छ । मतगणनाको सुरुवातदेखि दोस्रो, तेस्रो स्थानमा रहँदै आएको नेकपा एमाले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पहिलो नम्बरमा आएर विजयी भयो ।

टीकापुरमा एमालेका तपेन्द्र रावल मेयर बनेका छन् । सुरुवातदेखिनै अग्रता लिएका फोरम लोकतान्त्रिकका लोटन चौधरी र बीचमा अग्रता लिएका ललितबहादुर थापालाई पछि पार्दै तपेन्द्रले ५ हजार ९५९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ललितबहादुर थापाले ५६१० मत ल्याए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी केशरी विष्ट विजयी भएकी छन् । उनले ६ हजार २३६ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले ५ हजार ५५३ मत ल्याइन् ।

थारु बाहुल्य रहेको टिकापुर नगरपालिका संविधान जारी हुनुधन्दा एक महिनाअघि २०७२ भदौ ७ गतेको हत्याकाण्डका कारण छ । थारु प्रदेशको माग गर्दै भएको आन्दोलन कारण बरिष्ठ प्रहरी अधिकृतसहित ८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २० असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्