दुई सय ४६ स्थानको मत परिणाम घोषणा, कुन दलले कति जिते ?


 


काठमाडौँ, असार १९

आज दिउँसो २ः३० बजेसम्म २४६ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

यो सँगै २० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नं १ का ९३, प्रदेश नं ५ का ८० र प्रदेश नं ७ का ७३ स्थानीय तहको अन्तिम मत परिणाम घोषणा भइसकेको छ ।

मतगणना सकिएका जिल्लाहरुमा खोटाङ, तेह्रथुम, धनकुटा, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, रोल्पा, रुकुम, पाल्पा, गुल्मी, दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, अर्घाखाँची र डोटी छन् ।

पछिल्लो मतगणनाअनुसार, नेकपा ९एमाले० १०४, नेपाली काँग्रेस ९५, नेकपा ९माओवादी केन्द्र० ३२, सङ्घीय समाजवादी फोरम छ, मधेसी जनअधिकार फोरम नेपाल चार, राप्रपा दुई र स्वतन्त्र उम्मेदवारले एक स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १२३, काँग्रेस ७९, माओवादी केन्द्र ३२, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, जनअघिकार फोरम लोकतान्त्रिक तीन, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुईजना उम्मेदवार भएको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो । रासस

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्