भोजपुरमा आठ वटा स्थानीय तहको नतिजा सार्वजनिक, एमाले ४ कांग्रेस ३ माओवादी एक स्थानमा विजयी


 


भोजपुर, असार १८
नौ वटा स्थानीय तह रहेको भोजपुरमा आठ वटाको नतिजा सार्वजनिक भइसकेको छ । एउटा तहको भने मतगणना भइरहेको छ ।

सार्वजनिक भएको नतिजा अनुसार एमालेले चारवटा तहमा जित हासिल गरेको छ भने कांग्रेसले तीन वटा तह जितेको छ । त्यस्तै माओवादी केन्द्र एउटा तहमा विजयी भएको छ ।

एमालेले रामप्रसादराई गाउँपालिका, ट्याम्के मैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिका र पौवादुङ्मा गाउँपालिकामा जित हासिल गरेको हो ।

नेपाली कांग्रेसले अरुण गाउँपालिका, भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिका जितेको छ । त्यस्तै माओवादी केन्द्रले आमचोक गाउँपालिका जितेको छ ।

मतगणना भइरहेको षडानन्द नगरपालिकामा कांग्रेसले अग्रता कायम गरिरहेको छ । साँझसम्ममा नतिजा सार्वजनिक हुने बताइएको छ ।

मेयरमा कांग्रेसले अग्रता गरे पनि उपमेयरमा भने एमालेको अग्रता कायमै छ ।

एमालेले ट्याम्के मैयुङ गाउँपालिका र हतुवागढी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष नै जितेको छ भने रामप्रसाद राई र पौवादुङ्मा गाउँपालिकामा अध्यक्ष मात्र जितेको छ ।

कांग्रेसले अरुण गाउँपालिकामा मात्र अध्यक्ष, उपाध्यक्ष जितेको छ भने भोजपुर नगरपालिकामा मेयर र साल्पा सिलिछो गाउँपालिकामा अध्यक्ष मात्र जितेको हो ।

त्यस्तै माओवादी केन्द्रले आमचोक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष नै जितेको छ भने रामप्रसादराई र पौवादुङ्मा गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

अहिलेसम्म एमालेले चार प्रमुखसहित ८, कांग्रेसले तीन प्रमुखसहित ४ र माओवादी केन्द्रले एक प्रमुखसहित ४ वटा पदाधिकारी जितेका छन् ।

प्रकाशित मिति: १८ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्