बुबासँगको विवादपछि बेपत्ता युवक सातसम्म घर फर्केनन्, खोजिदिन आग्रह


 


राजविराज, असार १७

सप्तरी जिल्लाको पूर्वी भेगमा पर्ने साबिक जोगिनियाँ गाविस हाल हनुमानगर कङ्कालनी नगरपालिकाका एक युवक सात वर्षदेखि बेपत्ता भएका छन् ।

आफ्नै बुबासँग सामान्य विवाद भएपछि सात वर्ष अगाडि घरबाट निस्केका हनुमानगर कङ्कालनी– २ सकरदही निवासी लक्ष्मण मैरता यादवका १९ वर्षीय जेठो छोरा सञ्जय हालसम्म घर नफर्किँदा परिवारका सदस्य चिन्तित भएका छन् ।

आफ्नो छोराको अहिलेसम्म कुनै अत्तोपत्तो नलागेकाले मनमा विभिन्न किसिमको शङ्का उत्पन हुने भएको र परिवारजनमा चिन्ता लागेको लक्ष्मणले बताउनुभयो ।

सामान्य विवादपछि घरबाट निस्केका सञ्जयले छ महिनापछि एउटा सानो कागजमा लेखेको चिठी प्राप्त भएको थियो, जसमा लेखिएको छ “म विराटनगर उपमहानगरपालिका–१४ मा बस्दै आएको छुु, तपार्इँहरुले मेरो कुनै चिन्ता लिनु पर्दैन, म यहाँ सञ्चै छु । ” चिठी प्राप्त भएपछि उनको परिवारका सदस्यसहितले उक्त ठाउँमा खोजतलास गर्दा पनि सञ्जयको अत्तोपत्तो नभएको परिवारजनले बताएका छन् । सो विषयमा स्थानीय प्रहरीलाई जानकारीसमेत गराइए पनि हालसम्म पत्ता लागेको छैन ।

प्रकाशित मिति: १७ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्