नेताहरु निर्वाचन क्षेत्रमा, को कहाँबाट हाल्दैछन् भोट ?


 


काठमाडौं, १३ असार
स्थानीय तह दोस्रो चरणअन्तर्गत बुधबार हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जनता मतदान गर्न तयार भइसकेका छन् । सर्वसाधारण जनतासंगै नेताहरु पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै व्यस्त छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

सभामुख ओनसरी घर्तीले लिवाङ–७ रोल्पाबाट भोट हाल्दैछिन् । बालोदय माध्यमिक विद्यालय घर्तीले मतदान गर्ने केन्द्र हो । उपराष्ट्रपति नन्दबहादुर पुन खोलीगाउँपालिका–२ रोल्पाबाट मतदान गर्दैछन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामबाट भोट हाल्दैछन् । खनालको मतदान केन्द्र सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमाविमा रहेको छ ।

कृष्ण सिटौलाले झापाको भद्रपुर–१० स्थित कबलगुडी प्राविबाट मत हाल्दैछन् भने एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमाविबाट मत हाल्दैछन् ।

एमाले नेता सुवास नेम्बाङले इलाम र उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ बाट मताधिकार प्रयोग गर्दैछन् ।

प्रकाशित मिति: १३ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्