को होला नयाँ मुख्यसचिव ? १० जना प्रतिस्पर्धामा


 



काठमाडौं, असार ११
सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै छन् ।

सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले सुवेदीलाई १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेको छ । २० साउन ०७२ मा मुख्यसचिव भएका सुवेदीको कार्यकाल २० साउन ०७५ सम्म थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

को–को छन् प्रतिस्पर्धी ?
अब मुख्यसचिव को हुन्छ ? यो प्रश्नको जवाफ धेरै हदसम्म सुवेदीले राजीनामा कहिले दिन्छन् भन्ने प्रश्नमा निर्भर हुनेछ । अहिले मुख्यसचिवपछि वरीयतामा सचिव धनबहादुर तामाङ छन् ।

सुवेदीले २८ असारअघि नै राजीनामा दिएमा र सरकारले सो मितिअघि नै स्वीकृत गरेमा तामाङ मुख्यसचिव हुने बाटो खुल्नेछ । तर, सुवेदीले राजीनामा ढिलो दिएमा अथवा ढिलो स्वीकृत भएमा तामाङको अवसर गुम्नेछ ।

किनकि पाँचवर्षे कार्यकालका कारण उनले २८ असारमा अवकाश पाउँदैै छन् । उनी ०६९ साल २८ असारमा सचिवमा वढुवा भएका हुन् । तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेरहदका कारण २० मंसिरमा सेवानिवृत्त हुनेछन् ।

तर, मुख्यसचिव सुवेदीको राजीनामा २८ असारपछि आएमा भावी मुख्यसचिवका लागि वरीयताका आधारमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ प्रबल दाबेदार हुनेछन् । सुवेदी र श्रेष्ठमध्ये जो मुख्यसचिव भए पनि तीन वर्ष (पूर्ण अवधि) बहाल रहनेछन् । तर, मुख्यसचिव भएनन् भने पाँचवर्षे कार्यकालका कारण दुवैजना २ कात्तिकमा सेवानिवृत्त हुनेछन् । उनीहरू एकैदिन २ कात्तिक ०६९ मा सचिव भएका थिए ।

अझ उनीहरूभन्दा अगाडि अवकाश पाउनेमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्री र उपराष्ट्रपतिका कार्यालयका सचिव नारायणगोपाल मलेगो हुन् ।

मुख्यसचिव नभएमा क्षेत्री २ साउनमा र मलेगो १ भदौमा अवकाशमा जानेछन् । मुख्यसचिव भएमा पनि ५८ वर्षे उमेरहदका कारण क्षेत्री ८ कात्तिकमा र मलेगो भने १ भदौमा अवकासमा जानेछन् ।

तर, तामाङ मुख्यसचिव भए अहिलेका अन्य आकांक्षीमध्ये धेरैले मंसिरसम्म अवकास लिइसक्नेछन् । त्यसपछि बरियताका आधारमा गृहसचिव लोकदर्शन रेग्मीका लागि मुख्यसचिव बन्ने बाटो खुल्नेछ । यो अवस्थामा रेग्मीसँगै सचिवहरू ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि मुख्यसचिवको प्रतिस्पर्धामा रहनेछन् ।

रेग्मीलाई मंसिरपछि मुख्यसचिव बनाउनका लागि अहिले चार महिनाकै लागि भए पनि तामाङलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री देउवालाई निकटस्थले सुझाब दिइरहेको जानकार स्रोतहरू बताउँछन् ।

सचिवका रूपमा रेग्मीको पाँच वर्षे कार्यकाल ०७५ साल ६ साउन सकिएपछि उनी निवृत्त हुनेछन् । सुवेदी र श्रेष्ठमध्ये कोही मुख्यसचिव भएमा रेग्मीको मुख्यसचिव बन्ने पालो आउने छैन । किनकि, श्रेष्ठ र सुवेदीले अवसर पाए ०७७ सालसम्म पदमा रहनेछन् । तर, पाँच वर्षे कार्यकालका कारण रेग्मी एक वर्षपछि नै अवकाशमा जानेछन् ।

मुख्यसचिवले नछाड्दा के हुन्थ्यो ?
मुख्यसचिव सुवेदीको कार्यकाल ०७५ साल साउन २० सम्म छ । तर, कार्यकाल एक वर्ष बाँकी रहेकै वेला उनी एडिबीमा जाँदै छन् । उनको यो निर्णयसँगै मुख्यसचिवको अनुमानयोग्य ‘करिअर पाथ’ नै संकटमा परेको सचिवहरू नै बताउँछन् ।

सुवेदी ३ वर्ष पूरै अवधि मुख्यसचिवको रूपमा रहेका भए अहिले मुख्यसचिवको प्रमुख दावेदार मानिएका र मुख्य सचिवको दौडमा रहेका धनबहादुर तामाङ, लोकदर्शन रेग्मी, राजेन्द्र किशोर क्षत्री, नारायाण गोपाल मलेगो, शान्तबहादुर श्रेष्ठ, शान्तराज सुवेदी, ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारीले अवकाश लिइसक्थे ।

त्यसपछि वरीयताका आधारमा हाल लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मी र ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायमध्ये एक मुख्यसचिव बन्ने अवस्था हुन्थ्यो । तर, मुख्यसचिवको बहिर्गमनसँगै रेग्मी र उपाध्यायलाई मुख्यसचिव बन्ने बाटो लगभग बन्द हुनेछ ।

प्रकाशित मिति: ११ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्