साँच्चै ओझेलमा छ टक्सार बजार
भोजपुर, असार २५
दुई सय बर्षअघि प्रधानमन्त्री भिमसेन थापाको पालामा स्थापित भोजपुरको ऐतिहासिक टक्सार बजार अोझेलमा परेको छ । पूर्ब क्षेत्रको निम्ति डोली पैसा छाप्ने मुख्य अड्डा टक्सार बजार यतिबेला ओझेलमा परेको छ ।
टक्सारलाई पर्यटकीयस्थलको रुपमा बिकास गर्न नसकेपछि यहाँका बासिन्दाहरु अन्यत्र गएकाले लोप हुन लागेको हो । यहाँका बासिन्दाहरु स्थानीय उद्योग व्यावसाय संचालन हुन छाडेपछि पुराना घर, खेतबारी छाडेर सुबिधायुक्त ठाउँतीर गएकोले ऐतिहासिक टक्सार बजारको महत्व घटेको हो ।
बि.सं १८७२ मा राजा गिर्बाणयुद्ध बिक्रम शाहको पालामा टक्सार खानीअड्डा स्थापना भएपछि बजारको रुपमा बस्ती बिकास भएको हो । स्थानीयका अनुसार बि.सं १८७० सालदेखि तत्कालिन नेपाल सरकारले भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलाममा सुन, तामा, सिसा, पित्तल र फलामखानी उत्खनन् गर्न थालेपछि टक्सार खानीअड्डा स्थापना भएको हो ।
यहाँ पाटनबाट ल्याइएका कालिगढद्वारा फलाम र तामाको डोली पैसा बनाइन्थ्यो । पैसा छाप्ने पहिलो कालिगढ देवदत्त शाक्य हुन् । टक्सारमा टक छाप्ने पेशामा शाक्यबंशले लामो समयसम्म योगदान गरेका थिए ।
एक तोला र दुई तोला तौल भएको उक्त पैसा राणाकालसम्म चलेको स्थानीय यसोधारा माविका निवर्तनम प्रधानाध्यापक गणेश बज्राचार्यको भनाई छ । प्रधानमन्त्री भीमसेन थापाद्वारा स्थापित टक्सार खानीअड्डा धनकुटा प्रशासनिक केन्द्र अन्तर्गत चौदण्डी र माझकिरॉतको खिकामछा थुम पर्दथ्यो ।
माझकिरातकोे १७ वटा थुममध्ये खिकामछामा ‘खिकाहाङ’को शासन थियो । किरातकालिन खिकामछा थुमका राजा खिकाहाङको पालामा पाटनबाट आएका नेवार जातिले टक्सारमा मूर्तिकला र हस्तकलाको उद्योग संचालन गरेका थिए ।
स्थानीय बुढापाकाहरुको भनाई अनुसार खिकामछामा टक छाप्ने मुख्य अड्डा भएकोले टक्सार नामाकरण गरिएको हो । राणा शासकहरुले आफ्नो अधिनमा आएपछि यहाँबाट छाप बिनाको डोली पैसा प्रचलनमा ल्याएका थिए ।
टक छाप्नको लागि पाटनबाट कालिगढ ल्याइएका थिए । त्यतिबेला निर्मित दुई दर्जन मठमन्दीर, गुम्बा, चैत्य, बौद्धबिहार, धारा, पाटी पौवा, हस्तकला र मूर्तिकलाका अवशेषहरु टक्सारमा यथावत छन् ।
संरक्षणको अभावमा यी अबशेषहरु जिर्ण अवस्थामा छन् । टक्सारमा निर्मित करुवा, तामाको भाँडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, घन्टी, ग्लास, कचौरा, डबका र खुकुरी प्रशिद्ध मानिन्छ ।
तर यतिबेला यहाँबाट अधिकांस कालिगढहरु पलायन भइसकेका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढहरु पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग लोप हुन लागेको छ । हिजोआज एक दुई जनाले मात्र यो पेशालाई निरन्तरता दिएका छन् ।
कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन । स्थानीय स्तरमा खानी संचालन नभएकोले तराईबाट ढुवानी गर्दा महङ्गीले अबशेषका रुपमा रहेका उद्योगहरु पनि बन्द हुने अवस्थामा छन् । धेरै त बन्द नै भइसकेका छन् । यतिबेला सडक यातायात बाट सामान ढुवानी हुने गरेको छ ।
व्यवसायीहरुका अनुसार टक्सारमा ७५ प्रतिशत बजारबासीले आफ्ना ठूलठूला घर खेतबारी छाडेर अन्यत्र गइसकेका छन् । एक समय भोजपुरको टक्सार ओलाङ्चुङ्गोला बाहेक तिब्बतको ब्यापारिक केन्द्र दिगर्चा जाने अर्को मुख्य बाटो थियो । टक्सारमा निर्मित हस्तकलाका सामाग्रीहरु नेपालमा मात्र होइन, चिनको तिब्बत र भारतको दार्जिलिङ्, आसाम, सिलगढी तथा कलकत्तासम्म बिक्रीका लागि निर्यात गरिन्थ्यो ।
बज्राचार्यका अनुसार पाटनबाट टक्सारमा आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति र परम्परागत मूल्य, मान्यताहरु सँगै ल्याएका थिए । उनीहरुको गुम्बा, चैत्य, बौद्धविहार, शाक्यमुनि विहार, भीमसेनको घण्टा, करुणामय मन्दिर, अजीमा मन्दिरमा दाफा भजन, नामसंगिती, स्तोत्र पाठ, ज्ञानमाला भजन गाउँने र पुजा गर्ने परम्परा छ ।
नेवारहरुले लाखेनॉच, वुद्ध जयन्ती, गाईजात्रा, मत्या, कृष्णजात्रा र भीमसेनजात्रा मनाउने गरेका छन् । काठमाण्डौ उपत्यकापछि धार्मिक र सांस्कृतिक हिसावले पूर्वाञ्चलमै प्रसिद्ध भोजपुरको टक्सारमा बौद्धमार्गी नेवार जातिको बाहुल्यता छ ।
काठमाण्डौ, पाटन र ललितपुरका नेवारले जस्तै गुंला पर्व, वशुन्धरा व्रत, गाइजात्रा, लाखेजात्रा, इन्द्रजात्रा, दशैं, तिहार चाडपर्व मनाउने गरेका छन् । सदरमुकाम भोजपुरदेखि आधा घण्टा पैदल दुरीमा टक्सारस्थित बिमानस्थल पनि यही नै छ । यस अघि टक्सार गाविसमा पर्ने यो बजार यतिबेला भोजपुर नगरपालिकामा गाभिएको छ । पुरै गाविस तीन वडामा समेटिएको छ ।
ऐतिहासिक टक्सार बजारको उचित संरक्षण भए पर्यटकियस्थलको रुपमा बिकास गर्न सकिने स्थानीय अगुवा रमेश शाक्यको भनाई छ । टक्सारमा सरस्वती गुफा, अजिमा मन्दीर, भिमसेनथान, शाक्यमुनि बिहार, महादेव मन्दीर, टक्सार अड्डाको बिद्याधरी धारा, खिकामछा दरबारको अबशेष लगायत प्राकृतिक छट्टाले सुन्दर वातावरणयुक्त ऐतिहासिक स्थलहरुको अवलोन गर्न सकिन्छ ।
टक्सारमा मावि, निमावि र प्राबि आधा दर्जन बिद्यालय, उद्योग कार्यालय, सबैभन्दा पुरानो विद्याधरी सार्वजनिक पुस्तकालय, कालिका पुस्तकालय छन् । अनुसन्धानात्मक इतिहासको निम्ति यहाँका पुराना हस्तकलायुक्त भवन, शिलालेख, ताम्रपत्र र ऐतिहासिक सामाग्रीहरु पर्याप्त छन् ।
यसोधारा माविका निवर्तमान प्रधानाध्यापक बज्राचार्यले पुराना शिलालेखहरुको अध्ययन गरी नेपाली भाषामा प्रकाशमा ल्याएका छन् । लाखौं रुपैया खर्च गरेर निर्मित घरहरु संरक्षणको अभावमा नष्ट हुनेक्रम जारी छ । महत्वपूर्ण धार्मिक स्थल, मठमन्दिर, चैत्य, शाक्यमुनि बौद्ध विहारहरुको मर्मत सम्भार नगरे पूरै नष्ट हुने अवस्थामा रहेको स्थानिय अगुवा शाक्यको भनाई छ ।
प्रकाशित मिति: २५ असार २०७२, शुक्रबार