अध्यक्ष ओलीले भने, ‘एमाले हो साझा पार्टी, भ्रममा नपर्नुहोस्’


 


विराटनगर, असार १०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईका जनताको साझा पार्टीका रुपमा एमाले रहेको बताउनुभएको छ ।

विराटनगरमा आज साँझ आयोजित बृहत् सभालाई सम्बोधन गर्दै उहाँले आफूलाई मधेसी, आदिवासी, जनजाति र मुस्लिमको विरोधीका रुपमा प्रचार गरिएकाले त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले ऐतिहासिक नगरी विराटनगरको आधुनिकीकरण गर्दै यस नगरमा कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा आवश्यक पूर्वाधार बनाउन र रोजगारको सिर्जना गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा मधेसको विकासका लागि व्यापक रुपमा बजेटको व्यवस्था गरेको स्मरण गराउँदै पूर्व प्रधानमन्त्री ओलीले गरिब परिवारका लागि आवास योजना कार्यक्रम ल्याएको जानकारी गराउनुभयो ।

विराटनगर महानगरपालिकाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमसँग गठबन्धन गरिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रमुखको पदमा एमाले र उपप्रमुखमा फोरमका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति: १० असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्