देउवाका गाउँले भन्छन्, ‘पैलाजस्तो काँ हुन्छ र, भोट त रोजेर हाल्न्या हो’


 



डडेल्धुरा, असार १०
प्रधानमन्त्री शेरबहादुर देउवाको घरवारि मूल सडकमै एउटा चिया पसल । दाउरा बलिरहेको चुलोमा चिया पाक्दै थियो । चिया झुपडीको पुरानो बेन्चमा बसेर गन्यापधुरा गाउँपालिकाका माओवादी अध्यक्ष उम्मेदवार ईश्वरीदत्त भण्डारी आफूले पाउन सक्ने मतको हिसाब निकाल्दै हुनुहुन्थ्यो ।

डलेल्धुरा जिल्लाको यही गाउँपालिका वडा नं. १ मटेलामा हो प्रधानमन्त्री देउवाको गाउँ । यो गाउँपालिकामा माओवादीका अध्यक्ष पदका प्रत्याशी भण्डारीले देउवाको वडाको हिसाब–किताब गर्दै हुनुहुन्थ्यो । यो वडामा २ हजार ८ मतदाता छन् ।

साविकको आसखर्क गाविस अहिले गाउँपालिका भइसकेको छ । यही आसखर्क गाउँको खोलापारि मटेलामा देउवाको पुख्र्यौली घर छ । देउवाका आफन्त भने त्यहीँ बस्छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

माओवादीका उम्मेदवार भण्डारीले मतदाताको हिसाब गर्दा आफैले जित्ने आँकडा पाउनुभयो । नजिकैका अर्का एकजनाले जवाफ फर्काए ’लौ अब किन प्रचार गर्नुप¥यो र, तमिले जितिगयौ’, भण्डारी मुस्कुराउनुभयो ।

त्यही बगलमा लठ्ठी टेक्दै एक वृद्ध मिसिन आइपुग्नुभयो । उहाँ देउवाका आफन्ती भाइ, धर्मसिंह देउवा हुनुहुन्थ्यो । चियापसलमै गफिइरहेका एकजनाले जिस्क्याउनुभयो ’च्या खान्या हो, माउवादीको….? ’ देउवाले जवाफ फर्काउनुभयो ’च्या पनि माओवादी र कांग्रेसको होला र ? , त्यो ता भोटका बेला मात्रै हो ।’ प्रधानमन्त्रीको घर कहाँनेर त ? प्रश्न खस्न नपाउँदै देउवाले भण्डारीतिर औंलो देखाएर भन्नुभयो ’त्यहाँ थियो, माओवादीले जलाइदिए…’ भण्डारी मुस्काइरहनुभएको थियो ।

नाताले भाइभाइका छोरा पर्ने धर्मसिंह देउवाले आफ्ना भाइ शेरबहादुर देउवालाई दुई महिनाअघि मात्रै काठमाडौंमै भेट्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री हुनुभयो ।

धर्मसिंह पनि ०२६ सालदेखि ०३६ सालसम्म लगातार दुईपटक गाउँका प्रधानपञ्च थिए । ०३६ सालमा भएको जनमतसंग्रहका बेला उहाँले राजीनामा दिनुभयो । त्यसपछि ०४८ सालमा भएको निर्वाचनमा कांग्रेसका तर्फबाट उहाँ सभामुख पनि हुनुभएको थियो । देउवाको गाउँमा अहिलेसम्म कांग्रेसले हारेको छैन ।

त्यसैले पनि चुनाव जित्नेमा ढुक्क छन् कांग्रेसी । यो वडाबाट कांग्रेसका प्रत्याशी अध्यक्ष चेतराज भट्ट भन्नुहुन्छ, ’संगठन पहिलादेखि नै बलियो हो, हामीले जित्छौं हामीले हार्ने चान्सै छैन ।’ उहाँसँग एमालेका रामचन्द्र जैशी र माओवादीका विक्रमबहादुर देउवा चुनावमा भिड्दै हुनुहुन्छ । विक्रम शेरबहादुरकै काकाका छोरा हुन् ।

बीस वर्ष अघिको चुनाव सम्झिँदै शेरबहादुरका भाइ धर्मराज भन्नुहुन्छ, ’२० वर्षपछि यो बुढ्यौलीमा फेरि भोट हाल्न पाइने भो, त्यो चुनाव र यो चुनावमा हेर्दा जना धेरै बाठा भइसक्याछन् ।’ त्यहीबेला एक हुल महिला रोपाइँ सकेर फर्कंदै थिए ।

महिला मतदाता पनि कम देखिएनन् । उनीहरूलाई चुनावले त उत्साहित गराएको छ नै त्यसमा पनि प्रधानमन्त्रीको गाउँका महिला, अलि सचेत नै देखिए । एकजना महिला कमली सार्की भन्नुहुन्छ, ‘अब ता पैलाजस्तो काँ हुन्छ र, भोट त रोजेर हाल्न्या हो, अरूले भन्ने हुन्न ।’ पहिलाजस्तो गाउँको वा घरको नेताले भनेर अब भोट नहाल्ने उहाँको भनाइ थियो । ‘टाइम त फेरियो नि, यी अब प्रधानमन्त्रीसँगै भोट हाल्न पाइने भो ।’ प्रधानमन्त्रीले गाउँकै आसखर्क उच्च माविको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

त्यसका लागि प्रधानमन्त्री देउवा पत्नी आरजुसहित शनिबार डडेल्धुरा आइपुग्ने कार्यक्रम छ । शनिबार दिउँसो जोगबुढाको परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गरेपछि उहाँ सदरमुकाम अमरगढी बस्नुहुनेछ ।

केही दिन पार्टीका कार्यकर्ता भेटघाटलगायत अन्य कार्यक्रममा व्यस्त रहने देउवा १४ गते आफ्नै टोलको मतदान केन्द्रमा पुगेर मतदान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री भोट हाल्न गाउँ आउने भएपछि सदरमुकामदेखि उहाँको गाउँसम्म जाने बाटोमा डोजर लगाउने तयारी भएको छ

। हिउँदको बेलामा दिनको एक समय जिप मात्रै चल्नसक्ने उहाँको गाउँको बाटोमा वर्षायाममा गाडी चल्न सक्दैन । अहिले पनि बाटो केही बिग्रिसकेको छ।

देउवाको पुख्र्यौली घरको खोलापारि जाने त झन् बाटो पनि छैन । एउटा सानो झोलुंगे पुल बनेपछि बल्ल त्यहाँ जान सजिलो भएको छ । चार/चार पटक प्रधानमन्त्री भइसकेका देउवाको आफ्नै गाउँको बाटो किन यस्तो त ? दुईपटकसम्म प्रधानपञ्च भइसकेका उहाँका भाइ धर्मसिंह भन्नुहुन्छ, ’ऊ त सानैबाट देशको अनि सारा देशका जनताको विकास हेर्ने भैगो, अब गाउँको विकास त हाम्ले गर्ने हो ।’ घरका महिलाजति सबै रोपाइँमा व्यस्त छन् ।

युवाहरू आफू समर्थक पार्टीको चुनावी प्रचारमा टाढाटाढा गाउँगाउँ पुगेका छन् । त्यसैले देउवाको टोल अहिले सुनसानजस्तै छ । वरिपरिका घरहरू ठडिएका छन् । तर, देउवा जन्मिएको घर भने युद्धकालमै माओवादीले ध्वस्त पारिदिएको थियो ।

प्रकाशित मिति: १० असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्