मुग्लिन–नारायणगढ सडकखण्ड पहिरो : दुईको शव भेटियो


 



चितवन, असार ९
नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोमा परि बेपत्ता भएका चारमध्ये दुई जनाको शव भेटिएको छ । चितवनका डिएसपी दीपक श्रेष्ठका अनुसार प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दीपक कुमार मास्केको शव भेटिएको हो । बाँकीको खोजीकार्य भइरहेको छ ।

विहीबार मध्येराति गएको पहिरो पञ्छाउन गएको क्रममा माथिबाट खरेको पहिरोमा पनि प्रहरीको भ्यान र अर्को एउटा ट्रक थियो । भ्यानसँगै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ बेपत्ता भएका थिए ।

ठाउँ ठाउँमा पहिरो गएका कारण आज सो सडक खण्ड दिनभर प्रभावित हुने सम्भावना छ । नारायणगढ मुग्लिन सडकलाई दुई लेनको बनाउन विस्तारको काम भइरहेको छ । फराकिलो बनाउन पहाड काटेको ठाउँमा पहिरोको समस्या आइरहन्छ ।

ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ भने चालक सकुशल रहेको प्रहरीले जनाएको छ । राति १ बजेको समयमा पहिरोले प्रहरीको ना१झ ९३ नंको भ्यान र ना५ख ७८२७ नंको ट्रकलाई पुरेको थियो । भ्यान पुरै परिएको छ भने ट्रक नदीमा खसेको बताइएको छ।

जिल्ला प्रहरी प्रमुख थापाकाअनुसार रातिदेखि नै पहिरो पन्छाउने काम भइरहेको थियो । सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो ।

सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट साढे २ किलोमिटर नारायणगढतर्फको कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्