तनावमा डीआइजी सिलवाल र चन्द, के गर्दैछन् अहिले ?


 



काठमाडौं, असार ९
नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन् । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन ।

त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा छन् । सिआइबी प्रमुखको पदमा यथावत् भए पनि उनी तनावले बिदामा छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

सरकारले १ फागुनमा चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा सोही दिन अदालतले सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो । पछि उनको नियुक्ति नै खारेज भएको थियो ।

त्यसयता उनले गृहमा हाजिर गर्दै आएका छन् । एआइजीमा बढुवा गरेर उनलाई जिम्मेवारी दिने आश्वासन दिइएको थियो । तर, हालसम्म एआइजी बढुवाको प्रक्रिया नै सुरु भएको छैन । एआइजी नहुँदा सबै विभाग निमित्तका भरमा चलेका छन् ।

प्रहरीमा कति एआइजी राख्ने भन्ने अन्योल छ । तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो । हाल एआइजीका दाबेदारहरू धेरै भएकाले दरबन्दी थप्न दबाब छ ।

गृहमन्त्री जनार्दन शर्माले मन्त्रीमा नियुक्त भएकै भोलिपल्ट प्रहरीमा बढुवा अघि बढाइने बताएका थिए । बुधबारदेखि बढुवा त सुरु भएको छ, तर सइ तहको बढुवा अघि बढाइएको छ । बुधबार दुई सय सातजना असइलाई सइमा सिफारिस गरिएको छ ।

नेपाल प्रहरीमा डिआइजीको पद ६ महिनादेखि नै रिक्त छ । त्यस्तै, एसएसपी, एसपीलगायतका दर्जनौँ पद लामो समयदेखि रिक्त छन् । माथिल्लो पदहरू रिक्त भए पनि गृह र प्रहरी नेतृत्व बढुवामा चासो नदिँदा संगठनमा नैराश्यता बढ्दै गएको छ ।

असारभित्र बढुवाको प्रक्रिया सुरु नभए नया“ आर्थिक वर्ष सुरु भए पनि कात्तिकपछि मात्र बढुवा गर्न पाइने प्रहरी नियमावलीको प्रावधान छ ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्