पत्रकार महासङ्घको महाअधिवेशन भदौ ४ र ५ गते
काठमाडौँ, असार ८
नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौँमा हुने भएको छ ।
आज बसेको सचिवालय बैठकले मुलुकको विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको स्थितिलाई दृष्टिगत गरी आगामी भदौ ४ र ५ गते महासङ्घको २५ औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको महासचिव उजिर मगरले जानकारी दिनुभयो ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको सट्टा पहिले असार ९ र पछि असार १४ गतेका लागि निर्धारण गरेका कारण महासङ्घका केन्द्रीय सभासद्समेत रहेका क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार सङ्कलन र सम्प्रेषणमा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनमा सहभागी हुन सम्भव नभएकाले महाधिवेशनको मिति सारिएको महासङ्घले जनाएको छ ।
यसअघि महासङ्घको अधिवेशन यही असार २२ देखि २३ गते गर्ने निर्णय भएको थियो । रासस
प्रकाशित मिति: ८ असार २०७४, बिहिबार