प्रहरीका सई साब जब वडाध्यक्षका उम्मेदवार बने…


 


तेह्रथुम, असार ८

यस जिल्लामा नेपाल प्रहरीमा नायब निरीक्षक (सई)को रुपमा कार्यरत एक व्यक्तिले जागिर छाडेर स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

म्याङलुङ नगरपालिका–४, पिप्लेमा जन्मिएर नेपाल प्रहरीमा जवान हुँदै नायव निरीक्षक बन्नुभएका रामबहादुर खड्काले जागिर छाडेर वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

खड्काले आफूले आफ्नो विचार मिल्ने भएकाले जागिर छाडेर गाउँको विकास र समृद्धिका लागि नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभयो । “जागिर पनि लामो समयसम्म खाएँ,” उहाँ भन्नुहुन्छ, “चुनाव आएपछि गाउँवासीले उम्मेदवारी देउ, गाउँको विकासका लागि तिम्रो आवश्यकता छ भनेपछि उम्मेदवार भएको हुँ ।”

प्रहरी सेवामा रहँदा थुप्रै वर्ष उहाँले जिल्लामै रहेर नागरिकको सेवा गर्नुभएको छ । “जनतासँग घुलमिल भएर प्रहरी सेवामै हुँदा पनि गाउँका लागि सक्ने सहयोग गरिरहेको थिएँ, अब सिङ्गो गाउँको विकासको जिम्मा लिने अवसर पनि पाएको छु,” उहाँले भन्नुभयो ।

आफूले वडाध्यक्ष पदमा विजयी हासिल गरेपछि गाउँमा खानेपानी, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नागरिकको चाहनाअनुसार विकास र नेतृत्व आफूले गर्नसक्ने उहाँको तर्क छ । “प्रहरी सेवामा हुँदा मैले सुशासन, पारदर्शिताकै लागि काम गरेँ, भ्रष्टाचारको अन्त्य र गाउँको आर्थिक–सामाजिक विकास नै मेरा मुख्य एजेन्डा हुन्,” उहाँले थप्नुभयो ।

प्रहरी सेवामा जवानबाट भर्ती भएका उहाँले हवल्दार, प्रहरी सहायक निरीक्षक (असई) र नायब निरीक्षक (सई) भएर करिब डेढ दशक काम गर्नुभएको छ । रासस

प्रकाशित मिति: ८ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्