एकै पदका लागि बुबाछोरा र दाजुभाइ लड्दै
बैतडी, असार ८
बैतडीको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुबाछोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।
डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली काँग्रेसबाट र लोकेन्द्रबहादुर राना (शीतलले) नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् । नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताउनुभयो ।
दुवै भाइले एकैपदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्न समस्या भएको छ ।
यस्तै पुरचौडी नगरपालिका–७ मा वडाध्यक्ष पदका लागि बुबाछोराले अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
नागी साउँद (बुबा) नेकपा एमालेबाट र उज्ज्वल साउँद (छोरा)ले नेकपा (माओवादी केन्द्र)बाट वडा अध्यक्ष पदका उम्मेदवारी दर्ता गराएका हुन् ।
आफूहरुको अलगअलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउँदले बताउनुभयो ।
माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएका उज्ज्वल साउँदले उम्मेदवारी दर्ताका विषयमा बुबासँग कुनै छलफल नभएको बताउनुभयो ।
बुबाछोरा अलगअलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा लड्ने भएपछि परिवारका अन्य सदस्यलाई भोट हाल्न समस्या भएको छ ।
प्रकाशित मिति: ८ असार २०७४, बिहिबार