अनिश खालिङ राईको व्यथा ‘मृत्युदण्डबाट यसरी बचेँ’
अनिश खालिङ राई
वैदेशिक रोजगारको सिलसिलामा म यूएई गएँ, २०६८ माघमा । जाँदा नै खर्च धेरै भो लाख २० हजार रुपैयाँ । आफन्तले कम्पनीमा काम गर्ने हो भनेर भनेका थिए । उता पुगेपछि भेडीगोठमा पुगें । अहिले कम्पनीमा काम गर्ने भिसा ‘चेन्ज’ गर्न मिलेन, पछि गरौंला भनेपछि भेडीगोठ गएँ । म सुरुदेखि नै ठगिएँ, पैसा पनि त्यत्रो तिर्नुपर्यो ।
भेडीगोठ मरुभूमिमा थियो । यो यूएईका एक शेखको हो, उनको नाम, ठेगाना थाहा भएन । अल एइन भन्ने ठाउँको त्यो भेडीगोठमा हाम्रै गाउँका एक जना र एक बंगाली कामदार पनि थिए । बजारबाट सामान ल्याएर खाइन्थ्यो । कहिलेकाहीँ एक पाकिस्तानी ड्राइभरले ल्याइदिन्थे । उनीसँग दुई/तीन पटक भेट भइसकेको थियो ।
एक दिन म पनि उनीसँग बजार गएँ र सामान लिएर भेडीगोठ आयौं । ती पाकिस्तानी ड्राइभरले सामान झारे र मलाई कुदाएर मरुभूमि लागे । रातको ८ बजेको थियो होला । उनले अरूलाई पनि फोन गरेर बोलाउन थाले । मलाई डर लाग्यो ।
उनले दुर्व्यवहार (समलिंगी यौन हिंसा) गर्न थालेपछि मलाई मन परेन र प्रतिकार गरें । जबर्जस्ती गर्न खोज्दा साहस र आँट देखाएर लडेंं । उसले हान्दा मैले पनि हान्थें । बेस्सरी लडाइँ भो । ऊ भुईंमा ढलेपछि म भागें ।
मरुभूमिबाट अलि पर राजमार्ग थियो । दौडिँदै त्यहाँसम्म पुगें र गाडी चढेर भेडीगोठ आएँ । भोलिपल्ट त्यहीबेला पुलिस आएर मलाई पक्रेर लग्यो । बल्ल पो ऊ मरेको थाहा भो । मर्यो होला भन्ने लागेको थिएन । अस्पतालमा मर्यो वा मरुभूमिमै, मैले थाहा पाइन ।
अब बाँचिने भएन भन्ने लाग्यो । मेरै जस्ता समस्या अरूका पनि छन् । कोही त ३०, ३५ वर्षसम्म जेल परेका छन् । देश-विदेशबाट धेरैको सहयोगले म बाँचें । पाकिस्तानीको परिवारलाई ८१ लाख रुपैयाँ ब्लडमनी तिर्नुपथ्र्यो । त्यो रकम नेपालबाट गयो तर त्यहाँ पैसा अरू कसैले तिरिदिएछ । त्यत्रो रकम कसले तिर्यो, मलाई थाहा छैन ।
कान्तिपुर दैनिकमा अनिश खालिङ राईले अाफ्नो व्यथा यसरी राखे
यी सामाग्री पनि पढ्नुहोस्
प्रकाशित मिति: २५ असार २०७२, शुक्रबार