विद्यालयस्तरदेखि नै अब योग शिक्षा र अभ्यास जरुरी : प्रधानमन्त्री


 


काठमाडौं, असार ७
प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग अभ्यास जरुरी रहेको बताएका छन् । उनले विद्यालयस्तरदेखि योग शिक्षासंगै अभ्यास गराउनुपर्ने बताए ।

विश्व योग दिवसका अवसरमा आज आयोजित योग अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मानव स्वास्थ्यका लागि योग अपरिहार्य भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताए । ‘योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुनुका साथै मन र दिमागको सन्तुलन ठीक गर्छ’ उनले भने, ‘यो शिक्षा विस्तार गर्न जरुरी छ ।’ प्राचीन विधि योगले मानिसलाई कुलतबाट मुक्ति दिनुका साथै आनन्दित बनाउने उनको भनाई थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेखेको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको समेत विमोचन गरेका छन् । कार्यक्रममा पतञ्जली योग समिति, नेपालका प्रमुख योगगुरु लवदेव मिश्रले योग अभ्यास गराएका थिए ।

संयुक्त राष्ट्र संघले योग शिक्षालाई मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको छ ।

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्