देशैभर मनसुन सक्रिय, यस वर्ष औसत वर्षा


 



काठमाडौं, असार ७
एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशैभर सक्रिय भएको छ ।

मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविज्ञ सुवास रिमालले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम बदली मात्र हुन सक्ने अनुमान छ ।

प्रिमनसुन र मनसुनमा प्राकृतिक प्रकोपबाट धेरै विनाश हुने भएकाले मातहतका सबै निकायलाई तयारी अवस्थामा रहन गृह मन्त्रालयले निर्देशन दिएको छ । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

ठूला नदीमा पूर्वसूचना दिने उपकरण जडान

उच्च जोखिममा रहेका केही नदीमा तीन दिनअघि पूर्वसूचना दिने उपकरण जडान गरिएको जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए ।

यस वर्षदेखि कर्णाली नदी क्षेत्र, पश्चिम सेती, भेरी, दाङ बबई, नारायणी नदी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, बुढीगण्डकी र त्रिशूली नदीमा बाढीको पूर्वसूचना दिने उपकरण जडान गरिएको हो । पश्चिम राप्ती, कोसी नदीमा उपकरण राख्ने काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

औसत वर्षा हुने प्रक्षेपण

यस वर्षको मनसुनमा औसत वर्षा हुने अनुमान गरिएको छ । गत वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरूको दसौँ दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा यस वर्ष औसत वर्षा हुने अनुमान गरेको थियो ।

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरु भई सेप्टेम्बर २३ सम्म सकिन्छ ।

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्