तीन कम्पनीले पाए अनलाइन मोबाइल पेमेन्ट सिस्टमको लाइसेन्स, कुन–कुन छन् ?


 


काठमाडौं, असार ६
नेपाल राष्ट्र बैंकले ३ वटा कम्पनीलाई अनलाइन मोबाइल पेमेन्ट सिस्टमको लाइसेन्स दिएको छ । यो लाइसेन्स नेपालमा पहिलोपटक जारी भएको हो ।

प्रभु टेक्नोलोजी, आईएमई डिजिटल सोलुसन र ई(सेवाले अनलाइन मोबाइल पेमेन्ट सिस्टम सञ्चालनका लागि लाइसेन्स पाएका हुन् ।

लाइसेन्स पाएपछि यी कम्पनीहरुले आफूहरु उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकको संयुक्त पहलमा अब नेपालमा पनि मोवाइलमै पैसा बोकेर हिड्न मिल्ने भएको छ ।

मोवाइलमा जम्मा भएको रकम फेरि बैंककै खातामा पनि पठाउन सकिन्छ भने बैंक खातामा भएको रकम आफूलाई आवश्यकता परेअनुसार बैंकबाट मोवाइल वालेटमा सार्न सकिन्छ ।

यसै वालेटबाट रेमिट्यान्स, स्कूलको फि, टेलिकमको शुल्क, मोवाइल रिचार्ज, डिसहोम, सिम टीभी विजुलीको बील तथा खानेपानीको वील तिर्न सकिन्छ भने फिल्मको टिकट खरिद पनि गर्न सकिन्छ ।

त्यसबाहेक जुनसुकै पसलबाट जुनसुकै सामान खरीद गर्न सकिन्छ । यो प्रविधि सरल भएका कारण चिया पसल, किराना पसल र अन्य ससाना व्यबसायीहरुले पनि यसको प्रयोग गर्न सक्छन् । यसका लागि मोवाइल फोन भएपछि अरु केही चाहिदैन।

ग्राहकले मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका सुविधा पाउन सक्नेछन् ।

यो सेवाका लागि करिव १ बर्षदेखि राष्ट्र बैंकले गृहकार्य गरेको थियो । विदेशी प्रविधिलाई नेपाल भित्राएपछि यसबाट नेपालमा पनि थप सरल बैंकिङ सेवा सुरु हुने भएको हो । यस प्रकृया अनुसार मोवाइलबाटै सबै कुराको पेमेन्ट हुन्छ ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्