दार्जिलिका सबै सञ्चारमाध्यम बन्द
इलाम, असार ६
अलग गोर्खाल्याण राजयको माग गर्दै पश्चिम बंगालको दार्जिलिङ र आसपासमा निरन्तर भइरहेको अनिश्चितकालीन बन्द र प्रदर्शनपछि बंगाल सरकारले इन्टरनेट प्रदायक कम्पनीलाई पत्र लेखेरै सेवा बन्द गर्न निर्देशन दिएको छ ।
इन्टरनेट बन्द भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र कतिपय सेवा प्रदायक समेत मारमा परेको गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिए । उनले बंगाल सरकारको यो कदमलाई ‘राज्य आतंक’ को संज्ञा दिएका छन् ।
बंगाल सरकारले इन्टरनेटको कारण हिंसा भड्कने भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो। बंगाल सरकारको पहाड तथा गृह मामिला विभागले पत्रप ठाएर सेवा बन्द गर्न लगाएको हो । आजको अन्नपूर्ण दैनिकमा खबर छ ।
आन्दोलनकारीले फोटो र भिडियो मार्फत सूचना प्रवाह गरेको बंगाल सरकारको विश्लेषण पछि सेवा बनद गरेको हो । शनिबार प्रदर्शनकारी र बंगाल प्रहरीबीच भएको भिडन्तमा तीन जनाको मृत्यु भएको खबरलाई अवेरसम्म प्रशासनले लुकाएपछि मोर्चाका कार्यकताले भिडियो र तस्बिर सार्वजनिक गरेका थिए। त्यसपछि मात्र प्रशासनले तीन जनाको मृत्यु भएको स्वीकार गरेको थियो ।
बंगाल सरकारले दार्जिलिङ र आसपासमा आइतबारसम्म तीनजना भन्दा बढी भेला नहुन आदेश दिए पनि दैनिक प्रदर्शन भइरहेको छ। सोमबार पनि दार्जिलिङका विभिन्न स्थान, कालेबुङ खरसाङमिरिक लगायतका सहरमा मौन जुलुस निस्केको थियो ।
बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवम् गोर्खा टेरीटोरीयल एडमिनिस्टेटीव(जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार तीन जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: ६ असार २०७४, मंगलबार