जर्मनीको विजयी सुरुवात


 


एजेन्सी, असार ६

रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा सोमबार राति अस्ट्रेलियालाई ३–२ ले हारएको हो ।

सोचीमा भएको खेलमा जर्मनीलाई जिताउन लार्स स्टिन्ड्ल, जुलियन ड्रयाक्सलर र गोरेट्जकाले गोल गरे । अस्ट्रेलियाका लागि टम रोगिच र टोमी जुरिकले गोल गरे ।

सुरुवाति खेल जितेका चिली र जर्मनीको समान तीन अंक भएको छ । चिली समूह ‘बी’ को पहिलो तथा जर्मनी दोस्रो स्थानमा छ ।

विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि सुरु भएको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।

प्रतियोगितामा आयोजक रुससहित ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले कनफेडेरेसन कप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् ।

यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल आउँदो जुलाई २ मा हुनेछ ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्