लुटिएका निर्वाचन सामग्रीसहित विप्लवका जिल्ला नेता पक्राउ
दाङ, असार ४
निर्वाचन सामग्री लुटपाटमा संलग्न ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको छ ।
शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहेका बेला मुख छोपेर आएको एक समूहले मतदाता शिक्षा स्वयंसेविकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चेतनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाचन आचारसंहितासहितको एक झोला सामग्री लुटेर भागेका थिए।
प्रहरीले लुटिएको झोलासहित विकलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख, धीरजप्रताव सिंहले जानकारी दिनुभयो ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला इञ्चार्ज सविनले विज्ञप्ति जारी गरी पार्टीका जिल्ला सदस्य विकलाई उपचार गरी घर फर्कंदै गर्दा बाटोबाटै बिनाकारण गिरफ्तार गरिएको आरोप लगाउनु भएको छ । रासस
प्रकाशित मिति: ४ असार २०७४, आइतबार