कार्पेट उद्योगको आगलागी आठ घण्टापछि नियन्त्रणमा
काठमाडौं, असार ४
भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित यति कार्पेट उद्योगमा हिजो रातिदेखि लागेको भीषण आगलागी करिब आठ घण्टापछि नियन्त्रणमा आएको छ ।
शनिबार राति करिब साढे ११ बजेतिर उद्योगमा लागेको आगो अहिले विहान साढे ७ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईले जानकारी दिए । उद्योगमा ट्रान्सफर्मर सर्ट भएर आगलागी भएको खुलेको छ ।
उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योगमा दुई पक्की भवन, पाँचवटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै, आगलागीबाट पोली फाइबर, केमिकल, रङ्ग, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको यति कार्पेट उद्योगका म्यानेजर धमेन्द्र यादवले बताए ।
उद्योग पूर्ण रुपमा जलेर नष्ट भएकाले डेढ अर्ब बढी क्षति भएको अनुमान गरिएको छ । यद्यपी यकीन विवतरण अझै आउन बाँकी छ ।
आगो नियन्त्रण गर्न जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलको प्रयोग गरिएको थियो ।
आगलागी नियन्त्रणका लागि पानी ओसार्न स्थानीय रुपमा सञ्चालित ट्यांकर समेत प्रयोग गरिएको थियो ।
साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आगो निभाउन सहयोग गरेका थिए ।
प्रकाशित मिति: ४ असार २०७४, आइतबार