दोस्रो चरणको स्थानीय तह चुनावको उम्मेदवारी दर्ता सुरु


 


काठमाडौं, असार ४

दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो ।

निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउन सकिने छ ।

१, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन लागेको हो ।

प्रदेश नम्बर २ मा भने असोज २ गते चुनाव गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । प्रदेश नम्बर १, ५ र ७ मा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । यी मतदाताले निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चुन्नेछन् ।

चुनाव गराउनका लागि ३६४ मतदान केन्द्र तोकिएका छन् । सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी चुनाव गराउन खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्