दोस्रो चरणको निर्वाचनको तयारी पूरा, भोलि मनोनयन दर्ता


 



काठमाडौं, असार ३
असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनको तयारी पूरा भएको जनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले भोलि आइतबार मनोनयन दर्ताको मिति भएकाले सबै दलका उम्मेदावर र स्वतन्त्र उम्मेदावरलाई उत्साहका साथ उम्मेदवारी दर्ता गर्न अनुरोध गरेका छन् ।

सरकारले तय गरेको निर्वाचन कार्यक्रमअन्तर्गत भोलि विहान ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुनेछ ।

जसमा एक महानगरपालिका, ७ उपमहानर, १११ नगरपालिका र २१५ गाउँपालिका छन् ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिने छन् र १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् । निर्वाचनका लागि निर्वाचन आयोगका अनुसार ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति: ३ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्