शिक्षा र स्थानीय सरकारसम्बन्धी स्रोत सामग्री प्रकाशित


 


भक्तपुर, असार ३

संविधानमा शिक्षासम्बन्धी प्रावधान, वर्तमान सन्दर्भमा स्थानीय सरकारको दायित्व र केही देशका अनुभव समेटेर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले प्रकाशन गरेको स्रोत सामग्री सार्वजनिक भएको छ ।

‘सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि शिक्षा पत्रकारको भूमिका’ विषयको दुईदिने कार्यशालाको पहिलो दिन सो पुस्तक शिक्षाविद् डा मनप्रसाद वाग्ले र एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले विमोचन गर्नुभएको हो । डा वाग्लेको लेखन र सम्पादनमा सो पुस्तक तयार भएको हो ।

पुस्तकमा नयाँ संरचनाका रुपमा आएको स्थानीय तहमा शिक्षाका अधिकारको कार्यान्वयन र सम्बन्धित पक्षको जिम्मेवारी र अन्तर्राष्ट्रिय अनुभव समावेश गरिएको छ ।

शिक्षाविद् डा वाग्लेले संविधानले स्थानीय तहको अनुसूचीमा माध्यमिक तहसम्मको शिक्षाको सञ्चालनको जिम्मेवारी दिए पनि स्पष्ट कानुन बनिनसकेकाले त्यसका लागि स्थानीय सरकारले अग्रसरता लिई कार्यारम्भ गर्नुपर्ने बताउनुभयो ।

कार्यशालामा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, डा वाग्ले र पत्रकार राजेन्द्र दाहालले सहजीकरण गर्नुहुनेछ । रासस

प्रकाशित मिति: ३ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्