सत्ता लम्ब्याउने देउवाको चाल : बाह्य कारण राजपा, भित्री अर्कै


 



काठमाडौं, असार २
यसअघि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने ।

कांग्रेस सभापति तथा बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमती समेत भयो । सोहीअनुरुप प्रचण्ड प्रधानमन्त्री बने । सहमतीअनुसार तत्कालिन प्रधानमन्त्री प्रचण्डले बैशाखसम्ममा स्थानीय तहको चुनाव गर्नुपर्ने र त्यसपछि प्रदेश र संघको चुनाव आगामी माघसम्ममा गर्ने जिम्मेवारीसहित जेठमा देउवालाई सत्ता हस्तान्तरण गर्नुपर्ने थियो ।

दुई दलबीच भएको भद्रसहमती अनुसार बैशाखभित्रै देशका सबै ठाउँमा स्थानीय तहको चुनाव हुन सकेन । तर, स्थानीय चुनाव सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्ने मनसाय बनाएका प्रचण्डले बैशाख सकिएसंगै कांग्रेसको दवाव र नैतिकताका आधारमा देउवालाई सत्ता हस्तान्तरण गर्नुपर्ने भयो ।

पूर्व सहमतीअनुसार सत्ता हत्याउने समय आएपछि भित्रै भित्रै प्रचण्डलाई राजीनामा दिन लगाइरहेका देउवा चौथो पटक प्रधानमन्त्री भए । यसअघि चनाव गर्न नसकेर असक्षम घोषित भई तत्कालिन राजा ज्ञानेन्द्रबाट गलहत्याइएका देउवा फेरि अहिले स्थानीय तहकै निर्वाचन गर्न भनेर सरकारको नेतृत्व गर्न पुगेका छन् ।

तर, संविधानअनुसार आगामी माघ भित्रै तीन तहको निर्वाचन गरिसक्नुपर्ने स्थितिमा देउवा भने त्यसको ठीक उल्टो बाटोमा लागेका छन् । स्थानीय तहको चुनाव नै कहिले सकिन्छ भन्ने यकिन हुन नसकिरहेका बेला आगामी माघभित्र तीनवटै तहको चुनाव सम्भव हुँदैन कि भन्ने आशंका गर्न थालिएको छ ।

चुनाव सार्नुको रहस्य

नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा स्थानीय चुनावका लागि उम्मेदवार छनोट गरेपनि प्रदेश नम्बर २ मा उम्मेदवार छनोट गरेको थिएन ।

कांग्रेसले २ नम्बर प्रदेशमा चुनाव सार्ने रणनीतिअनुसार नै त्यहाँ उम्मेदवारको टुंगो नलगाएको अहिले प्रष्ट भएको छ । कनि भने अहिले देउवा नेतृत्वको सरकारले २ नम्बर प्रदेशको चुनाव सारेको छ ।

पूर्वयोजनाअनुसार नै कांग्रेसले प्रदेश नम्बर २ मा उम्मेदवारको टुंगो नलगाएको सजिलै थाहा पाउन सकिन्छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अहिले आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनमा छ ।

सरकार गठनका बेला भएका संविधान संशोधन, मुद्दा र्फिता, स्थानीय तहको संख्या बृद्धिलगायतका मागहरु सम्बोधन गरे मात्रै चुनावमा सहभागी हुने अडान राजपाले अगाडि सारेको छ ।

राजपाको यहि मागलाई सम्बोधन गर्ने बाहाना बनाएर २ नम्बर प्रदेशको चुनाव सार्न देउवा सफल भए । तर, अझै राजपाले सहमत हुन सकेको छैन । राजपाले चुनाव सार्ने भन्दा पनि माग पूरा भए चुनावमा जाने यसअघि नै भनिसकेको थियो ।

यसअघि माग सम्बोधन गर्न नसकिने भनेर उद्घोष गरेका देउवाले अहिले उनीहरुका माग सम्बोधन गर्ने र त्यसका लागि समय चाहिने भएकाले चुनाव सार्ने खेल खेलेका छन् ।

निर्वाचन आयोगको अनुमतीबिना २ नम्बर प्रदेशको चुनाव असोज २ गते गर्ने निर्णय सरकारले गरिसकेको छ । त्यसपछि प्रदेश र संघको चुनाव अझै बाँकी छ । बाँकी चार महिनामा यी दुई चुनाव गर्न असम्भव नै छ ।

संविधानअनुसार माघ भित्रै सबै तहको चुनाव गरेर सरकार छोड्नुपर्ने हुँदा देउवा संविधान संशोधन गरेर भएपनि चुनाव सार्ने र सत्ता लम्व्याउने खेलमा लागेको प्रष्ट भएको छ । अब माघ भित्रै सबै तहको चुनाव गर्न असम्भव भएपछि संविधान संशोधन गर्ने कार्य हुन्छ भने सोहीअनुसार बाँकी स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव हुनेछ ।

प्रचण्डलाई भित्रै भित्रै दवाव दिएर पूर्वसहमती भन्दै सरकारबाट राजीनामा दिन लगाएर आफू प्रधानमन्त्री बनेका देउवा भने आफ्नो सरकार कसरी लम्ब्याउने भन्ने खेलमा लागेका छन् । उनको यो क्रियाकलापले उनी अर्को पटक असक्षम हुने संकेत गरेको छ ।

प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्