‘भाषा सुधारका लागि संस्कृत ग्रन्थहरूको अध्ययन जरुरी’


 


काठमाडौँ, जेठ ३१

नेपाली भाषा सुधारका लागि संस्कृत ग्रन्थहरूको अध्ययन गर्न जरुरी रहेको भाषाविद्हरुले बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गत अनुवाद विभागद्वारा आज यहाँ आयोजित एक गोष्ठीमा कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले बिपी कोइरालाका साहित्यमध्ये अधिकांशको अनुवाद भइसकेको र रुसी साहित्यका प्रख्यात लेखकका कृति नेपालीमा अनुवाद भई प्रकाशित भएकामा खुसी व्यक्त गर्नुभयो ।

अरु भाषाबाट नेपाली भाषामा धेरै कृति अनुवाद भएपनि नेपाली साहित्यको अन्य भाषामा कमै अनुवाद भएको उहाँले बताउनुभयो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठानले बिपीका कृतिहरूको अनुवादको स्थिति के छ भनेर बुझ्न तथा नेपाली भाषा र रुसी साहित्यको सम्बन्ध कस्तो छ भन्ने उजिल्याउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले अनुवाद विभागका प्रमुख डा उषा ठाकुर तथा अनुवादक कोष तयार गर्न लाग्नुभएका डा गोविन्द भट्टराईको कामको सराहनासमेत गर्नुभयो ।
प्राध्यापक डा अभि सुवेदीले अनुवाद अत्यन्त कठिन कार्य भएको बताउनुभयो ।

विश्वेश्वरप्रसाद कोइरालाका अनुवादित कृतिहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रतिष्ठानका आजीवन सदस्य डा तुलसी भट्टराईले राजनीतिक परिवारमा हुर्कनुभएका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातन्त्र स्थापनाको निम्ति अतुलनीय योगदान पु¥याउनुभएको बताउनुभयो ।

नेपालीबाट अन्य भाषामा अनुवाद गर्ने कार्य कछुवाको गतिमा भइरहेको उहाँको टिप्पणी थियो । उहाँका अनुसार अहिलेसम्म नेपाली कविता, कथा उपन्यास, नाटक गरी ७५ कृति अङ्ग्रेजी भाषामा अनुवाद भइसकेको छ । बिपीका तीनघुम्ती, बिपीका कथा, मोदीआइन, सुम्निमा, नरेन्द्र दाई, आफ्नो कथा, जेल जर्नल, हिटलर र यहुदी, आत्मवृत्तान्तलगायतका कृति अङ्ग्रेजी, हिन्दीलगायतका भाषामा अनुवाद भई विश्वसामु पुगेको छ ।

त्यसैगरी अर्का प्रा डा जङ्ग चौहानले नेपालीमा अनुदित रुसी साहित्य विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले नेपालमा सन् १९६३ देखि विश्व भाषा क्याम्पसमा रुसी भाषा अध्यापन सुरु भएको बताउँदै नेपाली भाषामा केही रुसी साहित्यकारका कृतिहरू अनुवाद भई प्रकाशित भएको चर्चा गर्नुभयो ।

उहँले नेपाल र रुसबीचको साहित्यिक–सांस्कृतिक सम्बन्ध सुदृढ रहेको भए पनि पछिल्लो समयमा यसको गति अवरुद्व भएको बताउनुभयो । रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्