पूर्वराजाको चिया बगानले १२ वर्षसम्मको कर तिरेन


 



काठमाडौं, जेठ ३१
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्व रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको छ । आजको कारोबार दैनिकमा खबर छ ।

आर्थिक वर्ष ०६२÷६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए । आर्थिक वर्ष ०७३र७४ सम्ममा बगानले जग्गाको ३ करोड १५ लाख ६३ हजार ६ सय ७१ रुपैयाँ ६५ पैसा कर तिर्न बाँकी देखिएको उनले जानकारी दिए ।

अहिलेको चलनचल्तीको भाउ र बगानभित्र रहेका अन्य संरचनाको सबैको कर लगाउँदा बगानले २५ करोडभन्दामाथि तिर्नुपर्ने अवस्था आउने स्रोतको भनाइ छ । दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालका अनुसार चिया बगानले ओगटेको जग्गाको एकीकृत सम्पत्ति कर अत्यन्त न्यून गरेर राखिए पनि विभिन्न बहानामा तिर्न अटेर गरेको उनले बताए ।

दमक नगरपालिकाले बारम्बार बगानलाई कर तिर्न पत्राचार पनि गर्दै आएको छ । साविक दमक–१५ मा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको चिया बगानसँंगै भित्र चिया उद्योग र मिनी दरबारसमेत रहेको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्