घरमा रिसाउदा भागेकी दुई बालिका एक महिनादेखि बेपत्ता, खोजिदिन आग्रह


 


राजविराज, जेठ ३१

सप्तरीको साबिक भारदह गाविस हाल हनुमाननगर कङ्कालनी नगरपालिका–१ बाट एक महिनाअगाडि घरबाट निस्केका दुई बालिका हालसम्म घर फर्किएका छैनन् ।

सोही नगरपालिका–१ भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो र ७ वर्षीया छोरी सरोकुमारी खड्गा घरमा सामान्य विवाद हुँदा आवेशमा आएर घरबाट निस्केका र ती दुवै बालिका अहिलेसम्म घर नफर्केकाले परिवारजनमा रुवावासी भएको पीडित परिवारले जनाएको छ ।

स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा फेल भएको र घरको सदस्यले किन फेल भइस् भनेपछि सामान्य विवादका कारण घरबाट निस्केका ती दुवै बालिकालाई एक महिनादेखि जति खोजेपनि भेट्न नसकिएको उनका बुबा दुःखी खड्गाले बताउनुभयो । स्रोतका अनुसार घरबाट निस्केका ती दुवै बालिका भारदह चौकमा काँकडभिट्टा जाने बसमा चढेको बताइएको छ ।

यसैबीच, बेपत्ता भएका ती दुवै बालिकालाई खोजी गरिदिनहुन स्थानीय प्रशासन, मानवअधिकारकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकाय तथा विभिन्न सङ्घसंस्था र नेपाल सरकारलाई समेत उनका परिवारले आग्रह गरेका छन् । रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्