जर्मनी शरणार्थी शिविरमा आगलागी, ३७ घाइते


 


बर्लिन (जर्मनी), जेठ २८

जर्मनीको एक शरणार्थी शिविरमा आगलागी हुँदा निस्केको मुस्लोको असरले ३७ जना घाइते भएका यहाँको प्रहरीले आइतबार जनाएको छ ।

राति करिब २ः३० बजे आगलागी भएको र घटनामा परी १० बालबालिका र चार जना वयस्क व्यक्ति जलका र बेहोस भएको अवस्थामा पाँचतले भवनको पहिलो तल्लाबाट उद्धार गरिएको प्रहरी तथा अग्नी नियन्त्रकले जनाएका छन् ।

आगो नियन्त्रणमा ल्याउन ७० जना अग्नी नियन्त्रक तथा २७ वटा वारुणयन्त्रको प्रयोग गरिएको थियो ।

भवनमा रहेका अन्य तलाका पनि आगलागीपछि फैलिएको धुवाँको मुस्लोका कारण श्वास प्रश्वासमा समस्या हुँदा कोठामा अर्धचेत अवस्थामा रहेका करिब २३ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार भवनमा रहेका विस्थापित करिब ५० जनालाई अन्यत्र लगिएको छ ।

आगलागी भवनको सबैभन्दा तल्लो तलामा फोहोर राख्ने भाँडोबाट सल्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । यसबारे प्रत्यक्षदर्शीसँग प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । एफपी

प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्