आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित
पाल्पा, जेठ २८
आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका हुन् ।
यहाँका २०० भन्दा बढी घरपरिवारले आँप खेती गर्दै आएका छन् । रम्भा गाउँपालिका–१ हुँगीका अर्जुन पाठकका अनुसार किसानका खेतबारीमा फलेका आँपमा साना साना सेता किराले आक्रमण गरेपछि पूरै आँप झर्ने र खान नहुने भएकाले यो खेतीबाट दुईचार रुपैयाँ कमाउन खोज्नेका लागि ठूलो असर पारेको छ ।
कालीगण्डाकी नदीको किनारामा रहेको हुँगी आँप र लिची खेतीका लागि राम्रो मानिए पनि बर्सेनि आँपमा विभिन्न रोगले आक्रमण गरेका कारण किसानले फाइदा लिन सकेका छैनन् ।
स्थानीय जातका आँपमा पछि रोपिएका आँप प्रशस्त मात्रामा फल लाग्ने तर फल पाक्न नपाउने गरेको स्थानीयवासीको भनाइ छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार