आज पनि भएन भरतपुरको सुनुवाई


 


काठमाडौं, जेठ २८
भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा बिचाराधीन मुद्दाको टुंगो आज लागेन ।

न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याइनेमा परेको सर्बोच्चले जनाएको छ ।

१७औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा सहितले सर्बोच्चमा रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो । एमालेले भरतपुर १९ को पुनः मतगणना माग गरिरहेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्