कञ्चनपुर प्रहरी प्रमुखमाथि युवती अपहरणको आरोप, मुद्दा दायर गर्ने तयारी


 


Image

महेन्द्रनगर, २८ जेठ
कञ्चनपुर प्रहरीले फिल्मी शैलीमा अत्यन्त रहस्यमयी तरिकाले शनिबार साँझ ८ बजे महेन्द्रनगरस्थित बसपार्कमा होटल सञ्चालन गरिरहेका दुई युवतीलाई पक्राउ गरेको दावी गरिएको छ ।

अपहरण शैलीमा प्रहरीले बसपार्कमा ‘स्टाफ होटल’ नामले व्यवसाय गरिरहेका पूजा नाथ र कञ्चन नाथलाई गिरफ्तार गरेको प्रत्यक्षदर्शीले बताएका बताएका छन् । कञ्चन विद्या मन्दिर नजिक डेरा गरी बस्ने ती दुई युवतीले होटल बन्द गरेर डेरातर्फ जाँदा उनीहरुसहित एक युवकलाई गिरफ्तार गरी लगेको महाकाली यातायातका कर्मचारी हिरा पालले बताए ।

प्रहरी नियन्त्रण कक्षको १०० नम्बर टेलिफोनमा सम्पर्क गर्दा दुई युवती र एक युवकलाई वडा प्रहरीको गाडीमा जिल्ला प्रहरी कार्यालय ल्याइएको जानकारी दिइएको छ । तर, राति ११ बजे ड्यूटीमा रहेका नियन्त्रण कक्षका कर्मचारीले पक्राउ गरिएका व्यक्तिको नाम र कसुर भने थाहा नभएको बताए ।

युवतीहरु गिरफ्तार भएलगत्तै सोधपुछ तथा खोजतलास गरेका कानुन व्यवसायी विनोद भट्टका अनुसार जिल्ला प्रहरी प्रमुख प्रकाश चन्दले आफूलाई जानकारी नभएको र बुझेर तत्काल फोन गर्ने बताए पनि उनले मोबाइल स्वीच अफ गरेका थिए । भट्टले वडा प्रहरी कार्यालयका सई बीरबहादुर ऐरले सशस्त्र प्रहरी गुल्मले ती युवती र युवकलाई पक्राउ गरेको आफूलाई जानकारी दिएको बताए ।

घटना सम्बन्धमा बुझ्न खोज्दा एसपी चन्द, जिल्ला प्रहरी प्रवक्ता र वडा प्रहरी इन्चार्ज टक्कर स्वार सबैको मोबाइल स्वीच अफ गरेको पाइएको छ । वडा प्रहरी कार्यालयका सई घनबहादुर साउँदले आफ्नो कार्यालयलाई कुनै जानकारी नभएको बताएका छन् भने अधिवक्ता भट्टलाई जानकारी दिने सई ऐरले आफू विदामा बसेको बताएका छन ।

घटना रहस्यमयी
पूजा तथा कञ्चनका निकट व्यक्तिहरुका अनुसार एसपी चन्दले शनिबार दिउँसो दुबै युवतीलाई खाजा खान बोलाएका थिए तर ती दुबै गएका थिएनन् । यसअघि लगातार तीन दिन दुबै युवतीलाई केही घण्टा हिरासतमा राखेर छोडिएको समेत पूजा र कञ्चनका निकटम् व्यक्तिले दावी गरेका छन् । पूजा र कञ्चनसँगै पक्राउ परेका युवकको परिचय खुल्न सकेको छैन ।

पूजा र कञ्चन निकट ती व्यक्तिका अनुसार एसपी चन्दले बारम्बार फोन गरेर उनीहरुलाई कहिल्यै खाजा त कहिल्यै खानाका लागि निम्त्याउने गर्थे । पूजा र कञ्चनले एसपी चन्दको ‘आग्रह’ अस्वीकार गरिरहेपछि उनलाई जिल्ला प्रहरी कार्यालय झिकाएर छोड्ने गरिएको ती व्यक्तिको भनाई छ ।

अपहरण मुद्दाको तयारी
अधिवक्ता विनोद भट्टले पूजा र कञ्चनको गिरफ्तारी नभई अपहरण गरिएको दावी गरेका छन् । ‘बाराम्बार फोन गर्ने, आउन नमानेपछि जिप्रका झिकाउने गरेको पृष्ठभूमिमा आज गरिएको पक्राउ अपहरण हो’ भट्टले भने, ‘भोलि अपहरण मुद्दा दायर गरिन्छ ।’ उनका अनुसार एसपी चन्दको व्यवहार शंकास्पद रहेको हुनाले दुई युवतीको अपहरण गरिएको पुष्टि हुन्छ । मानसखण्डमा खबर छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्