देउवाको अघिल्लो कार्यकाल सम्झाउँदै राजपाले दियो जनयुद्धको चेतावनी !


 


जनकपुरधाम, जेठ २६
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले संविधान संशोधन नगरी निर्वाचन गराए पुनः जनयुद्ध हुने चेतावनी दिएका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

विगतमा शेरबहादुर देउवा नेतृत्वकै सरकारले नेकपा माओवादीको मागलाई फोहरको टोकरीमा फाल्दा जनयुद्ध भएको सम्झना गर्दै महतोले यस्तो चेतावनी दिएका हुन् । ‘देउवाले माओवादीका माग टोकरीमा फालेकै कारण १२ वर्षे सशस्त्र जनयुद्ध भएको हामी सबैलाई थाहा छ,’ नेता महतोले भने, ‘फेरि शेरबहादुर देउवा नेतृत्वकै सरकारले बिना संविधान संशोधन असार १४ गते दोश्रो चरणको स्थानीय तहको निर्वाचन गराउन खोजे पुनः जनयुद्ध निम्तिने छ।’

महतोले संविधान संशोधन बिना तराई मधेसका जिल्लामा निर्वाचन गराएर देखाउन प्रधानमन्त्री देउवा नेतृत्वको सरकारलाई चुनौती पनि दिएका छन् । जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वरमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतोले समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतासँग धोखा गरेको आरोप लगाए ।

विगत केहिदिनसम्म संविधान पुर्नलेखनको माग गर्दै आएका उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा सहभागी भएर मधेसका जनतालाई धोका दिएको महतोको आरोप छ।

यादवलाई कटाक्ष गर्दै महतोले भने, ‘हिजोसम्म जसले संविधान पुर्नलेखनको माग गर्दै थियो त्यो व्यक्तिले आज बाबुराम र अन्य दलसंग गठबन्धन गर्दै मधेसको माग सम्बोधन नहुँदै विना निर्वाचनमा गएर मधेसप्रति ठूलो गद्दारी गरेको छ।’

हतोले रामायणको प्रसंग उठाउँदै उपेन्द्र यादवलाई विभिषणको संज्ञा दिए । फोरम अध्यक्ष यादवको चुनावमा सहभागी हुने निर्णयले गर्दा तीन प्रमुख पार्टी बिना संशोधन पनि दोस्रो चरणको निर्वाचन गर्न उत्साहित भएको महतोको भनाइ थियो। नेता महतोले संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा तराई मधेसमा निर्वाचन हुन नदिने दाबी गरे ।

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्