बेपत्ता युवाको खोजी माग गर्दै बागलुङ सदरमुकाम बन्द


 


बागलुङ, जेठ २५

लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका युवाको खोजी गर्न माग गर्दै पीडित पक्षले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन् ।

मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बानपा–३ का १७ वर्षीय सुनिल पुन हराएपछि परिवार र आफन्तजन आन्दोलित बनेका हुन् ।

भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएको भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बागलुङबाट कुश्मातर्फ जाँदै गरेको ध१ज ४१४ नंको ट्याक्सीमा सवार पुनसहित अन्य दुई युवा लागुऔषधसहित फेला परेका थिए ।

खानतलासीका क्रममा ट्याक्सीभित्र लागुऔषध फेला परेको थाहा पाउनेबित्तिकै पुन कालीगण्डकी नदीतिर भागेको जिप्रका, बागलुङका प्रनाउ अनिलकुमार खड्काले बताउनुभयो ।

ट्याक्सीमा रहेका बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुरका २४ वर्षीय भीमसेन लामालाई भने नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।

उनीहरुको साथबाट लुकाइछिपाइ राखेको लागुऔषध डाइजेपाम–३ एम्पुल, नुर्फिन–तीन, फेनार्गन–चार, नाइट्राजेपाम–तीन र चार थान सुई प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै युवामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने डरले नदी तरेर भाग्ने क्रममा बीचमै बेपत्ता भएको हुन सक्ने अनुमानमा प्रहरीले मङ्गलबार रातिदेखि नै पुनको खोजी कार्य सुरु गरेको थियो ।

दुई दिन बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि पुनका परिवार र आफन्तजन आन्दोलनमा उत्रेका हुन् । उनीहरुले आज बिहान १० बजेदेखि बागलुङ सदरमुकाममा यातायात र पसल बन्द गराएका छन् ।

घटनाको सत्यतथ्य छानबिन र बेपत्ता पुनको अवस्था सार्वजनिक नगरेसम्म विरोधका कार्यक्रम जारी राख्ने पीडित पक्षका भुवन कँडेलले बताउनुभयो ।

यता, प्रहरीले भने पोखराबाट आएको सशस्त्र प्रहरीको खोताखोर टोलीले कालीगण्डकी नदीमा खोजी गरिरहेको जनाएको छ ।

“नदी किनारलगायत सम्भावित क्षेत्रमा अस्तिदेखि नै खोजी कार्य चलिरहेको छ”, प्रनाउ खड्काले भन्नुभयो – “घटनाप्रति प्रहरी संवेदनशील भएर लागेको छ ।”

परिवार र आफन्तजनले भने प्रहरीले घेरा हालेर पक्राउ गर्न खोज्दा पुन डरले नदीभित्र पसेको बताएका छन् ।

प्रहरीले नदीले बगाएको प्रत्यक्ष रुपमा नदेखेको बताए पनि स्थानीय बासिन्दा र केही प्रत्यक्षदर्शीले पौडी खेल्दै पारि तर्न खोजेका पुन नदीको बीच भागमा पुगेर हराएको जनाएका छन् ।

पीडित पक्षले सहज रुपमा पक्राउ नगरेर प्रहरीले अनावश्यक तनाव दिएपछि नदीतिर भाग्नुपर्ने अवस्था सिर्जना भएको भन्दै प्रहरीको आलोचना गरेका छन् ।

प्रहरीले भने पक्राउ गर्न लाग्दा पुन आफैँ भागेर बेपत्ता भएको जनाएको छ । पीडित पक्षले मङ्गलबार पनि घटनाको विरोधमा केहीबेर सडक बन्द गराएका थिए । रासस

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्