प्रधानमन्त्रीको सारथी बन्दा…
मनहरि तिमिल्सिना
“आज त बालुवाटरमा बैठक थियो रे दलहरुको, के भएछ खै, खबर पाउनै गाह्रो भयो ।” सम्भवतः डेढ वर्ष अघि होला, प्रधानमन्त्री केपी ओलीको पालामा राजनीतिक दलको महत्वपूर्ण बैठकको समाचार पाउन नसकेपछि न्यूज डेस्कमा कुरा चलिरहेको थियो ।
“पिएलाई फोन गर्नु न, नत्र सञ्चार हेर्ने फलाना पनि छन् नि” कसैले सुझाव दियो । “हाम्रो फोन उठाए पो, उनीहरुले ठूलो मिडियालाई पो भन्ने हुन् ।”
समाचार पाइएन, पछि अरु केही मिडियामा प्रधानमन्त्रीका सञ्चार सहयोगीको श्रोत उल्लेख गरेर प्रकाशित समाचार अन्य मिडियाहरुले यसो काँटछाँट गरी राखे ।
यो अवस्था केपी ओली प्रधानमन्त्री हुँदा मात्रै होइन, त्यसअघि सुशील कोइराला, बाबुराम भट्टराईदेखि अन्य प्रधानमन्त्रीहरुको पालामा पनि बालुवाटार र सिंहदरबारका सूचना मिडिया र अझ आम जनताका लागि दुर्लभ नै हुने गरेका थिए ।
र, यो दुर्लभतालाई चिर्ने काम गरे प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले । मीडिया र सञ्चारको महत्व राम्रोसँग बुझेका प्रकाश दाहालको विशेष पहलमा त्यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका नाममा सिएमप्रचण्ड डटकम साइट लञ्च भइसकेको थियो ।
सल्लाह भयो– प्रधानमन्त्रीका हरेक काम जनताले थाहा पाउन्, कुनै पनि मीडियाले ‘भित्र के भइरहेको छ ?” भन्ने नपरोस् । हरेक गतिविधि, हरेक घटना, हरेक कामहरु जस्ताको तस्तै बाहिर आउने व्यवस्था मिलाउनुपर्छ ।
र, यही अनुसार, प्रधानमन्त्रीको टीममा प्रधानमन्त्रीका हरेक गतिविधिदेखि सरकारका मुख्य कामहरु, निर्णयहरुबारे सुसूचित गर्न जिम्मेवारी बाँडफाँड भयो । र, यो बाँडफाँडसँगै देखा परे एक युवा । पोखरामा बसेर लेखन र राजनीतिमा व्यस्त रहेका युवा लेखक मनहरि तिमिल्सिना ।
र, त्यसपछि हरेक मिडियामा इमेलहरु आउन थाल्यो । प्रधानमन्त्रीले कसलाई भेटे, भेटमा के कुरा भयो । मन्त्रीपरिषदको बैठकमा के भयो ? हरेक गतिविधिहरु आम सर्वसाधारणले थाहा पाउन पुगे ।
यतिसम्म कि प्रधानमन्त्रीका दैनिक गतिविधिहरु समेत सार्वजनिक भए । यो सबै जिम्मेवारी थियो मनहरि तिमिल्सिनाको ।
सानैदेखि वामपन्थी राजनीतिमा लागे मनहरि । अध्ययनमा सारै चाख राख्ने, लेखन त उनको शौख नै भयो । २०५७ सालम जनादेश साप्ताहिकको सम्वाददाता हुँदै पत्रकारिता शुरु गरेका मनहरि युद्दकालमा भने भूमिगत भएरै काम गरे ।
त्यसपछि अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य र जनमुक्ति सेनाको कम्पनी कमिसार बने उनी । पछि शान्तिकालमा भने उनी फेरी जोडिए मिडियासँगै ।
गण्डकी मिडियाको प्रबन्ध निर्देशक भए, गण्डकी खबरको सम्पादन गरे र अहिले भने पार्टीगत रुपमा उनी बुद्धिजीवी संगठन र जनसांस्कृतिक महासंघको केन्द्रीय महासचिव भएर पनि काम गरे ।
यो पृष्ठभूमिमा उनलाई लेखन त्यति गाह्रो विषय भने पक्कै थिएन । “लेख्न गारो भएन, बुझेपछि लेख्न अप्ठ्यारो हुन्न । अध्ययनमा चासो भएकोले भाषामा पनि सुधार भयो” मनहरि भन्छन् ।
शुरुमा प्रकाश दाहालले प्रधानमन्त्रीको सचिवालयमा समाचार संयोजकको जिम्मेवारी दिने कुरा गरेपछि एकछिन त आत्तिएको बताउँछन मनहरि । “प्रकाशजीबाट त्यो कुरा आएपछि सुरुमा त डर लाग्यो । बालुवाटार, प्रधानमन्त्री, सिंहदरबार । सकिएला र ?” उनले भने, “तर पछि आँट आयो र आएँ काठमाडौं ।”
यो दश महिनामा प्रधानमन्त्रीसँग जोडिएका ९५ प्रतिशत गतिविधिका समाचार बनाए उनले । सबै कार्यक्रममा उनी पछाडि हुन्थे प्रधानमन्त्रीका । तर यो त्यति सजिलो काम भने पक्कै थिएन ।
मनहरि भन्छन्, “सानो शब्दमा मिष्टेक भएपनि ठूलो असर पर्ने, शब्द चयनदेखि प्रस्तुतिको ख्याल राख्नुपर्ने । पार्टी अध्यक्ष हुँदा अनौपचारिक हुन्थ्यो, यहाँ औपचारिक रुपमा लेख्नुपर्ने । तर बिस्तारै बानी प¥यो ।”
दश महिनाको अवधिमा प्रधानमन्त्री र सचिवालयका टिमबाट पाएको सहयोगले उनले मज्जाले सहयोग गर्न सके प्रधानमन्त्रीलाई । “स्पिरिट एउटै भए समस्या पर्दो रहेनछ । त्यसपछि योजनाबद्ध ढंगले समाचार सम्प्रेषण गर्न थाले । सबैको सहयोग रह्यो” उनको अनुभव छ ।
प्रधानमन्त्री प्रचण्डको पालामा कैयन् नयाँ रेकर्डहरु कायम भए । आर्थिक बृद्धिदरदेखि लोडसेडिङ लगायतका कामहरु सम्पन्न भए । मनहरिका शब्दमा बालुवाटारका सूचनामा सहज पहुँच पनि एउटा रेकर्ड ब्रेक नै हो ।
“यो नयाँ थालनी हो, शक्ति केन्द्र हो बालुवाटार । यहाँका सूचनाहरु आम जनताले थाहा पाउँदैनन् । र, सबै मीडियाको यहाँ पहुँच पनि हुँदैन । त्यसैले हामीले गरेको काम रेकर्ड ब्रेक नै हो । यसलाई अबका दिनमा कसरी पालना गरिन्छ, त्यो भने हेर्न बाँकी छ ।”
मनहरि तिमिल्सिनाले प्रधानमन्त्रीका समाचार मात्रै बनाएनन् यो अवधिमा । उनले त पाइला पाइलामा सरकारविरुद्ध छरिएका भ्रमहरु चिर्ने काम समेत गरे ।
“एकपछि अर्को भ्रम छरिन्थ्यो । म आफै समाचार लेख्ने मानिस, मलाई थाहा हुन्थ्यो यथार्थ के हो भनेर । तर बाहिर मिडियामा, सामाजिक सञ्जालमा भएगरेका कुरालाई उल्टो ढंगले बंग्याएर भ्रम छरिन्थोे ।”
मनहरि भन्छन, “यी भ्रम छिर्ने जिम्मेवारी पनि थपियो । कहिले लेखका माध्यमबाट, कहिले के कहिले के गरेर भ्रम चिरियो । देशभरिका साथीहरुलाई साँचो कुरा यस्तो हो भनेर बुझाउने काम भयो ।”
पछिल्लो चरणमा व्यक्तिगत कारणले मनहरिले एकाएक बालुवाटार छोडे । पारिवारिक जीवनमा आएको उथलपुथलले मानसिक दबाव सिर्जना भएपछि उनी बाहिरिए ।
त्यसपछि प्रचण्डसँग जोडिएका सूचना सचिवालयका अन्य सदस्यहरुबाट बाहिर आए पनि नियमित समाचार भने त्यति आउन सकेन । “मलाई त्यस्तै परेको थियो, कसैलाई थाहा नदिई म हिँडे ।
यता गोविन्द दाइ एक्लै पर्नुभयो । मेरो जिम्मेवारी पनि उहाँलाई थपियो । नियमित समाचार हुन नसकेपनि सूचना प्रवाहमा भने कमि भएन । दाइले सबैलाई समाचार दिनुभयो” मनहरि आफ्नो अनुभव सुनाउँछन् ।
दश महिना बालुवाटारको बसाईमा प्रकाश दाहालको सक्रियता र मीडिया बुझाईबाट भने औधी प्रभावित देखिए मनहरि । भन्छन, “सूचना संकलन र प्रवाहमा प्रकाशजीको तुलना गर्न सकिन्न ।
उहाँबाट पनि धेरै कुरा सिक्न पाइयो । कुन सूचना, कसरी कहाँ दिने, भ्रमहरु चिर्न कसरी अघि बढ्ने, सूचना कसरी बटुल्ने कुरामा अब्बलै रहेछन् प्रकाश ।
अर्कोतर्फ सक्रियता, बिहान ६ बजेपनि फोन गरेकै छन्, राति १ बजे पनि ‘मनहरिजी, त्यो फलानो विषयमा समाचार छुट्यो, बनाएर हालिदिनु त भनेकै छन् ।”
व्यक्तिगत सुविधाका हिसाबले बालुवाटार बसाईमा उपसचिवको सुविधा पाए मनहरिले । “हामी एउटा मिसनका साथ सरकारमा गएकोले मलाई पनि व्यक्तिगत सुविधाले अर्थ राखेन । फेरि हाम्रो टिम आर्थिक कुराहरुबाट टाढै रहने ।”
मनहरि भन्छन्, “हाम्रो ध्यान सही सूचना प्रवाह गर्नेतर्फ नै केन्द्रित भयो । सरुवा बढुवा, ठेक्कापट्टा जस्ता कुराहरु हाम्रो दिमागमा नै आएनन् ।”
प्रधानमन्त्री प्रचण्डको दश महिने कार्यकालमा उल्लेख्य योगदान पु¥याएका मनहरि अब चाहिँ के गर्छन् त ? फर्किन्छन् कि पोखरातिरै, या फेरि यतै केही गर्छन् ? “हैन, म पोखरा तत्काल फर्किन्न, अझै केही समय अध्यक्ष कमरेडलाई नै सहयोग गर्छु । अध्ययन र लेखनलाई निरन्तरता दिन्छु” उनले कुराको बिट मार्दै भने ।
(कुराकानीमा अाधारित)
प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार