प्रधानमन्त्री कप क्रिकेटको फाइनल हुँदै, आर्मी र पुलिस कसले मार्ला बाजी ?


 


काठमाडौं, जेठ २५
प्रथम प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच खेल हुँदै छ । खेल बिहान ९ बजेपछि त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

फाइनल विजेताले अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी अर्थात २० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख रुपैयाँ पाउनेछ ।

यसअघि ट्वेण्टी ट्वेण्टी क्रिकेटमा दुईपटक फाइनल खेल्दा पुलिस विजयी भएको थियो । तर यो प्रतियोगिता ५० ओभरको भएकाले दुवै टीमलाई आफू एकदिवसीयमा अब्बल प्रमाणित गर्ने मौका पनि हो ।

पुलिस क्लव मञ्जित श्रेष्ठ र आर्मी विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिनेछ । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो ।

यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । देशकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अपराजित छ ।

समूहचरणको खेलमा तीन खेल खेलेको आर्मीले तीन खेलमा नै जित हासिल गरेको थियो । पहिलो खेल पूर्वाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै आर्मीले विजयी भएको थियो ।

यसैगरी आर्मीले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई आठ विकेट र नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो ।

समूह चरणको खेलमा समान तीन खेल नै खेलेको नेपाल पुलिस क्लबले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो ।

पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सात विकेट र पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेका थिए । त्यस्तै समूह चरणमा पुलिस आर्मीसँग पराजित भएको थियो ।

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्