ज्ञानेन्द्रबहादुर कार्की : भोजपुरको गैरीगाउँदेखि अर्थ मन्त्रीसम्म


 


ध्रुव सुवेदी
काठमाडौं, जेठ २४
कांग्रेस केन्द्रिय सदस्य एंव सांसद ज्ञानेन्द्रबहादुर कार्की अर्थ मन्त्री बनेका छन् । अर्थ वा भौतिक निर्माण तथा यातायात मन्त्री के बन्लान भन्ने चासो चिर्दे कार्की अन्तत नेपालको आर्थिक ढुकुटीको चाबी हात पार्न सफल भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिए लगत्तै कार्कीले शितल निवासमा राष्ट्रपतिबाट सपथ लिएका छन् ।

देउवाका अति विश्वास पात्र रहेका कार्की २०१३ सालमा भोजपुरको साविक देउराली गाविस–४ गैरीगाउँ हाल षडानन्द नगरपालिका–११ मा जन्मिएका हुन् । कृष्णमोहन कार्कीका पाँच भाइ छोरा मध्ये ज्ञानेन्द्र जेठा छोरा हुन् ।

कार्कीका लागि सिंहदरबारको कुर्सी कुनै नौलो होइन, किनभने यसअघि उनी क्याबिनेट मन्त्री एक पटक भइसकेका छन् भने एक पटक राज्यमन्त्री भइसकेका हुन् ।

२०६३ सालमा कार्की जलस्रोत राज्य मन्त्री हुँदै जलस्रोत मन्त्री बनेका थिए । प्रारम्भिक शिक्षा गाउँबाटै लिएका कार्कीले भोजपुर क्याम्पसबाट प्रमाणपत्र तह अध्ययन गरेका थिए । कार्कीले राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका छन् ।

आरआर क्याम्पस लगायतमा शिक्षण समेत गरेका कार्की नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुन भने समानुपातिक तर्फका सांसद समेत हुन् ।

विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले औधी माया गर्ने कार्की भट्टराईको प्रधानमन्त्री कालमा स्वकिय सचिव भएका थिए ।

शेरबहादुर देउवाका थोरै मध्येका प्रमुख विश्वासिला पात्र कार्की देउवा प्रधानमन्त्री हुँदा समेत सल्लाहाकारको भूमिकामा बसिसकेका हुन् ।

विद्यालय तहबाट नेविसंघमा आवद्ध भएका कार्की २६ बर्षकै उमेरमा २०३९ सालमा नेविसंघको केन्द्रिय अध्यक्ष बनेर नेपाली कांग्रेसको राजनीतिमा उदाएका थिए ।

सुरु देखि नै देउवालाई साथ दिदै आएका कार्की अर्थ मन्त्री भएसँगै पार्टीको महामन्त्री हुने अन्तिम कसरतमा छन् । पुष्पकमल दाहाल नेतृत्वकोे सरकारमा कार्की गएका थिएनन् ।

त्यसविचमा देउवाले पदाधिकारी मनोनयन गर्दा कार्कीलाई महामन्त्री बनाउने तयारी गरेका थिए तर देउवाले हालसम्म पदाधिकारी मनोनयन गर्न सकेका छैनन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्