आज देउवा प्रधानमन्त्री, दुई चरणमा संसद बैठक


 


काठमाडौं, जेठ २३
सर्बोच्च अदालतले भरतपुर महानगरपालिकाको मतगणना रोक्न अन्तरिम आदेश दिएसंगै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएको छ ।

संसद अवरोध हटेपछि आज (मंगलबार) बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । अन्नपूर्ण पोष्टमा खबर छ ।

सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा संसद बैठक चल्न दिने सहमती भएको हो ।
प्रधानमन्त्री पदमा कांग्रेस सभापति देउवाको एकल मनोनयन दर्ता छ ।

संसद्मा जारी गतिरोधलाई निकास दिन सभामुख घर्तीले आग्रह गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार संसद्को दुईवटा बैठक राख्न प्रस्ताव गर्नुभएको थियो ।

पहिलो बैठकले संसद्मा आजसम्म भएका काम(कारबाही र राष्ट्रपतिबाट आएका पत्रबारे जानकारी दिने, त्यसपछि प्रमुख तीन दलका शीर्ष नेताहरू बोल्ने कार्यसूची तय गरिएको छ ।

पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संसद् किन बन्द गर्नुपर्‍यो र खुल्यो भन्नेबारे संसद्लाई जानकारी गराउनुहुनेछ भने कांग्रेस सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालले त्यससम्बन्धमा आफ्नो प्रतिक्रिया दिने कार्यक्रम छ ।

सभामुखले राष्ट्रपतिको पत्र पढ्दै आफ्नो धारणा व्यक्त गरेपछि आधा घन्टापछि बस्ने दोस्रो बैठकले प्रधानमन्त्री निर्वाचन गर्ने सहमति भएको जानकारी स्रोतले दियो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्