एक सेकेण्ड पनि संगै नबसेका पतिको नाममा ९० लाख क्षतिपूर्ति !


 


काठमाडौं, जेठ २१
एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् ।

रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरुको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएका थिए । तर, उनीहरुको परम्पराअनुसार पूर्ण रुपमा विवाहक्रम हुन पाएको थिएन । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

उक्त जोडीको गौनासम्म भएको थिएन । अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ । बच्चा जन्मनेबित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोराछोरीसँग विवाह गरिदिने वाचा गर्छन् ।

छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल सामान दिने ‘तिलक’ प्रचलन छ । तिलकपछि विवाह गरिन्छ । केटीलाई माइतै छाडेर दुलाहा घर फर्कन्छन् ।

केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ । गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ ।
वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिसिलामा ज्यान गएको हो ।

नन्दकुमार १८ वर्षमा कतार गएका थिए । ‘पैसा त पाएँ तर उनीसँग एक सेकेन्ड पनि देखभेट गर्न नपाई जीवनभरका लागि गुमाएँ । अब एक्लो जीवन कसरी बिताउने ?’ उनले भनिन् ।

नन्दकुमारको क्षतिपूर्ति एवं बिमाबापत पाउने ९० लाख रुपैयाँ उनका हकदारले पाएका हुन् । शुद्दोधन नगरपालिका(७ निवासी २१ वर्षीया नन्दनीले ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत बुझेकी छन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्