नदी आसपास जानुहुन्छ भने सतर्क हुनुहोस्, गोही यसरी हुँदैछ थप आक्रामक


 


रत्ननगर (चितवन), जेठ २१

चितवन राष्ट्रिय निकुञ्जले अहिलेको मौसम गोहीको प्रजननको समय भएकाले नदी आसपास जानेक्रममा विशेष ध्यान दिन आग्रह गरेको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्डा पारेर अहिले लुकाउने समय भएकाले यो समयमा गोही थप आक्रामक हुने बताउनुभयो ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गतको इचर्नी खोला नजिकै गोहीले मानिसलाई आक्रमण गरी हात नै चुँडेर लगेपछि निकुञ्जले नदी आसपासमा सचेत हुन भनेको हो ।

“प्रजननको समयमा आक्रामक हुने भएकाले टाढैबाट पनि गोही आउन सक्छ, अर्यालले भन्नुभयो – विशेष ध्यान नदिए मानिसको ज्यानै लिन्छ ।” अहिले माछा मार्ने यामसमेत नभएकाले यसतर्फ पनि निकुञ्जले ध्यानाकर्षण गराएको छ ।

गत बुधबार चितवनको कुमरोजस्थित इचर्नी खोलामा माछा मार्ने क्रममा गोहीले स्थानीयवासी प्रसाद महतोको हात नै खाइदिएको थियो । उनको अहिले भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गएको चैतमा पनि पौडी खेल्न जाँदा चितवनको जगतपुरका अर्जुन हरिजनलाई गोहीले आक्रमण गरेको थियो । यस्ता घटना यहाँ दोहोरिरहेकाले निकुञ्जले यसतर्फ सचेत गराएको हो ।

पछिल्लो तथ्याङ्कमा चितवनको यो दुई नदीमा १६८ वटा गोही फेला पारिएको थियो । केही समयअघि यहाँ एउटा गोही जालमा अड्किएर मरेको पाइएको थियो । रासस

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्