७५ हजारले कोरियाली भाषा परीक्षा दिँदै, कहाँ-कहाँ तोकियो परीक्षा केन्द्र ?


 


काठमाडौं, जेठ २१

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जेठ २७ र २८ गते सञ्चालन हुने आठौं ईपीएस टपिक (भाषा परीक्षा) का लागि काठमाडौं उपत्यकाका २६ स्थानमा परीक्षा केन्द्र कायम गरिएको छ ।

यीमध्ये काठमाडौंमा १९ र ललितपुरमा ७ वटा क्याम्पस तथा स्कुलमा भाषा परीक्षा केन्द्र कायम गरिएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारी जानकारी दिए । आजको कारोबारमा खबर छ ।

यो वर्ष ७५ हजार ६ सय १२ युवाले रोजगारीका लागि कोरिया जान अनिवार्य गरिएको भाषा परीक्षामा सहभागिता जनाउँदै छन् । शनिबार र आइतबार दुई सिफ्टमा परीक्षा सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) का प्रतिनिधिको रोहवरमा भाषा परीक्षा सञ्चालन हुनेछ ।

परीक्षामा सहभागी भएर उत्कृष्ट अंक ल्याउने १० हजार २ सय नेपालीलाई कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले रोजगारीका लागि छनोट गर्ने छ ।

यो परीक्षाबाट ४ हजार उत्पादन र ६ हजार २ सय कृषि क्षेत्रका लागि नेपाली कामदार लैजाने कोरियाले जनाएको छ । परीक्षामा छनोट भएका कामदारको माग सन् २०१७ को अन्त्यबाट सुरु हुने जनाइएको छ । यो छनोट संख्या गत वर्षको तुलनामा तेब्बर बढी हो ।

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्