भरतपुर महानगरको मतगणनाबारे आज निर्णय हुने, के छ कानूनी व्यवस्था ?


 


भरतपुर, जेठ १९
निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका विषयमा आज निर्णय गर्ने भएको छ । मतगणनाका क्रममा यसअघि जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो ।

स्थगित मतगणना के गर्ने भन्ने बारेमा आज छलफल पश्चात निर्णय गरिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । विवादपछि नेकपा एमालेले मतगणना गर्नुपर्ने माग गरिरहेको छ भने माओबादी केन्द्र र नेपाली कांग्रेसले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएका छन् ।

एमालेले मतगणना नै गर्नुपर्ने भन्दै संसद बैठक समेत अवरुद्ध गर्दै आएको छ । मतगणनाका क्रममा ९० मतपत्र नोक्सान हुन पुगेको प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।

 

यस्तो छ कानूनी व्यवस्था

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ ले मतपत्र नोक्सान भएमा के गर्ने भन्ने उल्लेख गरेको छ । दफा ४९ को उपदफा १ मा मत गणना पूरा हुनुभन्दा पहिले मतदानका लागि प्रयोग गरिएको मतपत्र वा मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैर कानुनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावस् नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी तुरुन्त त्यसको प्रतिवेदन मुख्य निर्वाचन अधिकृत वा निर्वाचन आयोगलाई दिनुपर्ने छ भन्ने व्यवस्था छ।

उपदफा २ ले त्यसरी स्थगित गरिएको मत गणनाको काम पूरै अवैध घोषणा गर्ने व्यवस्था छ। त्यसैगरी उपदफा ३ ले त्यसरी अवैध घोषणा भएपछि प्रमुख निर्वाचन अधिकृतले निर्वाचन आयोगको निर्देशनमा यथाशीघ्र पुनः मतदानका लागि स्थान मिति र समय तोकी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्