महोत्तरीमा बौलाहा कुकुरको आतंक, अस्पतालमा एन्टिरेबिज अभाव
गौशाला, वैशाख १९
महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मी संगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् ।
जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको महोत्तरी जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । यसअघि कहिलेकाहीँ एक÷दुईजना बिरामी मात्र आउने जिल्ला अस्पतालमा गर्मी बढेसँगै अहिले दैनिक आठ÷दशजना कुकुरले टोकेका बिरामी आउन थालेको चिकित्सक साकेश कर्णले बताउनुभयो ।
उहाँले अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अहिले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप ह्वात्तै बढेको बताउनुभयो ।
तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको चिकित्सक कर्णले बताउनुभयो । तर विगत एक सातादेखि कुकुरले टोकेका बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको चिकित्सक कर्णले बताउनुभयो ।
कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज)सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।
कुकुरले टोकेका बिरामीलाई अस्पताल बाहिरबाटै सुई किनेर लगाउनुपरेको छ भने जिल्ला अस्पतालले सम्बन्धित निकायमा एन्टिरेबिजको माग गरिसकेको र दुई÷चार दिनमा पुनः एन्टिरेबिज सुई उपलब्ध भइसक्ने चिकित्सक बताउँछन् । रासस
प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार