क्याप्टेन कैलाश गुरुङले यसरी पुर्‍याएका थिए भोजपुरमा गाडी


 


ध्रुव सुवेदी
काठमाडौं, जेठ १६
उडेरै आयो भोजपुरमा गाडी । यो त्यतिबेलाको समाचार शिर्षक हो, जतिबेला भोजपुरमा पहिलो पटक गाडी पुगेको थियो । त्यो पनि गुडेर हैन उडेर ।

गुड्ने गाडी कसरी उड्यो ? हो यहाँ उडेरै गाडी आयो, हेलिकप्टर मार्फत । आजभन्दा ठिक नौ बर्ष अघि अर्थात २०६५ असार २६ गते विरलै मात्र सुनिने, र देखिने दृश्य भोजपुरमा देखियो ।

त्यो के भने लमतन्न परेको भोजपुर सदरमुकामको बिचमा अवस्थित टुँडिखेलमा गाडी उडेर आयोे ।

नेपाली सेनाको RAN–५३ हेलिकप्टरले महेन्द्रा जीप ओरालेको थियो । धनकुुटाको हिलेबाट नेपाली सेनाको यो हेलिकप्टरले पहिलो पटक भोजपुरको माटोमा गाडी अवतरण गराउँदा जिल्लाबासीमा कम्ता खुसी थिएनन् ।

गाडी हेर्नकै लागि गाउँ–गाउँबाट मानिसहरुको ओइरो लागेकोे थियो । हेलिकप्टर मार्फत यो गाडी ल्याउने क्याप्टेन थिए कैलाश गुरुङ ।

गाडी र कैलाश माला र अबिरले राताम्मे बने । भिडबाट हटेर कैलाशले पश्चिमतिर हातले इसारा गर्दे भने उ त्यही हो मेरो गाउँ ।

उनले इशारा गरेको गाउँ होे छिनामखु गाविस, हाल ट्याम्के मैयुङ गाउँपालिका वडा नं २ ।

नौ बर्ष अघिको भोजपुरको वास्तविकता यही हो । जहाँ भर्खर मोटरबाट सुरु हुने क्रममा थियो । अरुण नदीमा पुल बनेको थिएन भने लेगुवाबाट भोजपुरसम्म मोटरबाट राम्रोसँग जोडिसकेको थिएन ।

तत्कालिन एमाले नेतृ विद्यादेवी भण्डारीको पहल, प्रधानसेनापति रुक्मांगद कट्वालको सहयोगले भोजपुरमा उडेर गाडी आउने सौभाग्य मिलेको थियो भने आफ्नो जन्मभूमिमा क्याप्टेन कैलाश गुरुङले गाडी ओरालेर इतिहास रचेका थिए ।

अब मेरो जिल्ला पनि विकास हुने भयो, युवावस्थासम्म भोजपुरकै माटोमा हुर्केका कैलाशको वाक्य हो यो । नेपालको पश्चिमी क्षेत्रतिर बेला–बेला यसरी गाडी ओराल्ने गरे पनि आफ्नै जिल्लामा गाडी बोकेर आउँदा आनन्द लागेको उनले त्यो बेला सुनाएका थिए ।

योे गाडी जिल्लामा भर्खर खुलेको हिमालय बचत तथा ऋण सहकारी संस्थाले ल्याएको थियो ।

संयोग कस्तो भने हाल यो संस्था नामेट छ, त्यही संस्थाको गाडी ल्याएका कैलाश पनि मंगलबारबाट यस्ता गाडी नबोक्ने गरी कोल्टी विमानस्थलबाट अस्ताएका छन् ।

देशले एउटा प्रतिभाशाली व्यक्ति गुमाएको छ भने भोजपुर पुरै शोकमग्न बनेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्