पार्टी नेतृत्वविरुद्ध अनशनरत कांग्रेस नेता कुँवर सिकिस्त, बेखबर नेतृत्व


 



शंकर बोहरा/ कैलाली, जेठ १४
यहि जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनौटमा एकलौटी गरेको भन्दै पार्टी कार्यालयमै आमरण अनसन बसेका कांग्रेस नेता कृष्णबहादुर कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

नेतृत्वले उम्मेदवारको टिकट राम्रा भन्दा हाम्रालाई वितरण गरेको भन्दै पार्टी कार्यालयमा चार दिनदेखि ताबाबन्दीसहित आमरण अनशनमा बसेका कुँवर सिकिस्त बनेका हुन् । कुँवर धनगढी उपमहानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका दावेदार समेत हुन् ।

कुँवरको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको कांग्रेस कार्यकर्ता प्रताब विष्टले जानकारी दिए । उनले शरीर दुख्ने, छटपटाहट, स्वासप्रस्वासलगायतमा समस्या देखिन थालको जानकारी दिए । पार्टी निर्णयबाट असन्तुष्ट पक्षले टिकट वितरणमा आर्थिक चलखेल, एक पक्षीय ढंगले पार्टी नेतृत्वले टिकट वितरण गरेको आरोप लगाएका छन् ।

 

स्लाइन पानी चढाइयो
चार दिनदेखि पार्टी कार्यालयको गेटमा आमरण अनशन बसेका कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै आइतबार दुई बोतल स्लाइन पानी चढाइएको छ । यस्तै अवस्था भएर स्वास्थ्य अवस्था झन विग्रन सक्ने चिकित्सकले सल्लाह दिएका छन् ।

तर, कुँवरले आफ्नो अनशन आफ्नो लागि भन्दा पनि पार्टी हितको लागि भएको बताएका छन् । उनले पार्टीले निर्णय नसच्याएसम्म अनशन नतोड्ने बताएका छन् ।

 

बेखबर पार्टी नेतृत्व
पार्टीले मनपरी निर्णय गरेको भन्दै आमरण अनशन बसेका कुँवरको अवस्थाका बारेमा पार्टी पंक्ति बेखबर बनेको छ । चार दिनदेखि आमरण अनसनमा बसेका कुँवरको पार्टी नेतृत्वले कुनै वास्तानै नगरेको कार्यकर्ताले आरोप लगाएका छन् ।

धनगढी उपमहानगरपालिकाको मेयरका आकांक्षी उम्मेद्वार नृप ओड, कृष्णबहादुर महरालगायताका नेतालाई यसबारे जानकारी गराइएको भएपनि कुनै पहल नभएको बसन्त टोलकी सुनिता विष्टले गुनासो गरिन् ।

टिकट वितरणको विषयमा कांग्रेस कैलालीमा तिव्र असन्तुष्टि रहेको छ । यसअघि विभिन्न वडाका क्रियाशिल सदस्यहरुले सामुहिक राजीनामा समेत दिइसकेका छन् । केही दिनअघि तीन जना सांसदहरुको रहोबरमा नेपाली काँग्रेस कैलालीले धनगढी उपमहानगरपालीकाका १९ वडाका लागि वडा अध्यक्ष र सदस्यको नाम छनौंट गरेको थियो ।

अधिकांस कार्यकर्ताहरुले, पार्टी सभापति र सांसद पुस्करनाथ ओझाले आफु निकटका ब्यक्तिलाई मात्रै उमेदवारमा छानेको आरोप समेत लगाएका छन् ।

धनगढीमा केन्द्रीय लाइनअनुसार पार्टीका दुई लाइन देखिएका छन् । तर पौडेल समूहका कसैले पनि टिकट नपाएको आरोप काँग्रेसलाई लागेको छ । अझ देउवा समुहभीत्रकै दुई वटा गुट सांसद पुस्कर नाथ ओझा र पार्टी समापति नरनारायण शाहबीच समेत आफ्ना उमेदवार छनौटमा प्रतिष्पर्धा भएको कार्यकर्ताको आरोप छ ।

जसले गर्दा कांग्रेस कैलाली विवादको दलदलमा फसेको छ । असन्तुष्ट पक्षले धनगढीमा चुनाव प्रसार प्रसार गरिएका वडा नंं ३, ४, १३ लगायतका सचिवालयमा तालाबन्दी समेत गरेका छन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्